काठमाडौं, जेठ २१ – औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो ।
विभागले यसअघि नै चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइसकेको छ । ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि सिनोभ्याकले उत्पादन गरेको उक्त खोपलाई यसैसाता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि आपतकालीन प्रयोगका लागि अनुमित दिएको थियो ।
यससँगै चीनमा उत्पादन भएका दुई खोपलाई डब्लुएचओले आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओले यसअघि नै सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।
सिनोभ्याकले उत्पादन गरेको कोरोनाभ्याक खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, टर्की र थाइल्याण्डमा प्रयोग गरिएको थियो । ती देशमा खोप लिएका आधाभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिएको, शतप्रतिशत व्यक्तिमा गम्भीर बिरामी र अस्पताल भर्ना हुनुपर्ने अवस्था नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त खोप १८ वर्षमाथिका व्यक्तिले लगाउन सक्ने डब्लुएचओले जनाएको छ । सिनोभ्याकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियत तापक्रममा सामान्य ‘रेफ्रिजेरेटर’मा भण्डारण गरेर राख्न सकिने छ । चीनले दुई चरणमा गरेर नेपाललाई १८ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ । यसैगरी भारतले पनि १० लाख डोज कोभिसिल्ड खोप नेपालाई अनुदान दिएको छ ।
विभागले प्रयोग अनुमति दिएसँगै अबको बीस दिनभित्र १० लाख डोज खोप नेपाल ल्याउने गरी तयारी भइरहेको बताइएको छ । नेपालमा खोप आयातका लागि बायोमेटिक्सले अनुमति मागिसकेको बताइएको छ । बायोमेटिक्सले १० लाख खोप भण्डारणका लागि काठमाडौंमा भण्डारण गृह पनि निर्माण गरिसकेको छ ।
FACEBOOK COMMENTS