काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।
पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट शक्तिकी प्रतीक देवी र दुर्गाको पूजाअर्चना गर्दै निधिले आफ्नो चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
निधिले आगामी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनेसँगै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको दूरीसमेत पातलिएको छ । निधिले देउवालाई यसअघि आफूलाई १४ औं महाधिवेशनमा सभापतिमा सघाउने सर्तमै सघाएको बताउँदै आइरहेका छन् । निधिले सम्पर्क कार्यालय उद्घाटन गर्दै गर्दा केही जिल्लाका प्रभावशाली जिल्ला सभापतिसमेत साथमा राखेका थिए ।
कार्यक्रममा सभापति देउवाका गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्ल, काभ्रे सभापति मधु आचार्य, नुवाकोट सभापति जगदीशनरसिंह केसी, धादिङका रमेश धमला, सुर्खेतका कमलमणि रेग्मी, संखुवासभाका दीपनकुमार श्रेष्ठ, धनुषाका महेशचन्द्र गिरीलगायत सहभागी थिए ।
यस्तै, प्रदेश २ का मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा, पुर्व मन्त्री शुरेश मल्ल, प्रदेश २ का सांसद शिव चौधरी, मिनाक्षी झा, स्मृतिनारायण चौधरी, पूर्वसांसद प्रेमकिशोर यादव, नरेश यादवलगायत सहभागी थिए । महेन्द्रनारायण निधि पुत्र विमलेन्द्रले जननायक बीपी कोइराला पुत्र एवं कांग्रेस महामन्त्री डा। शशांक कोइराला तथा लौहपुरुष गणेशमान सिंहका पुत्र एवं कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहसँग पनि चुनावी तालमेलका लागि पटकपटक छलफल गर्दै आइरहेको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS