काठमाडौं । चाडपर्वको समयमा हुनसक्ने अपराध र सवारी दुर्घटना न्यूनीकरणतर्फ सजग रहन आग्रह गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले देशैभरका प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिएका छन्।
सोमबार भिडियो कन्फरेन्समार्फत् आईजीपी थापाले निर्देशन दिएका हुन्।कन्फरेन्समा महानगरीय प्रहरी कार्यालय रानीपोखरी, सातवटै प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रहरी प्रदेश कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको सहभागी रहेको थियो ।
चाडपर्वको समयमा हुने जुवातास तथा मादकपदार्थ सेवनले अपराध बढ्ने हँदा चनाखो र जिम्मेवारी हुनु पर्ने जानकारी दिईएको छ । यस्ता अपराधलाई नियन्त्रण गर्न विशेष योजना बनाइ चाडपर्वलाई उत्साह र उमंगका साथ मनाउने वातावरण सिर्जना हुनेगरी सुरक्षा नीति तर्जुमा गरी काम गर्नुपर्ने आईजीपीको निर्देशनमा भनिएको छ। कानुनविरूद्धको कार्य गर्नेलाई यथाशीघ्र कानुनको दायरामा ल्याउनसमेत उनले निर्देशन दिएका छन् ।
सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी र नागरिक समाजसँग समन्वय गरी सामूहिक रूपमा जनचेतनामूलक कार्यहरू सञ्चालन गर्नुको साथै प्रहरी हेल्प डेस्कसमेतलाई क्रियाशील गराइ आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ।
‘हिरासत कक्षभित्रको सुरक्षामा कार्यालय प्रमुख आफैं चनाखो भइ हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भइ तोकिएको जिम्मेवारी निर्वाह गर्नुपर्छ,’ निर्देशन दिँदै आईजीपी थापाले भने, ‘सीमानाकामा हुने विभिन्न चोरी, तस्करी तथा लुटपाटजस्ता घटनाहरूमा सीमापार रहेका सुरक्षाकर्मीहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी त्यस्ता घटनाप्रति कठोर भएर लाग्नु पर्ने बताएका छन् ।
समाजमा शान्ति सुरक्षा प्रत्याभूत गर्न सबै सुरक्षा निकायहरूबीच संयुक्तरुपमा समन्वय र समझदारी हुनुपर्ने चर्चा गर्दै उनले ऐन कानुनको परिधिभित्र रही मानवअधिकारको सम्मान गरी आआफ्नो काम कारबाही अगाडि बढाउनुपर्ने बताएका छन् ।
FACEBOOK COMMENTS