असोज २७ , काठमाडौँ । रूपन्देहीको बुटवलमा चार दिनदेखि लगाइएको कर्फ्यु हटाइएको छ । स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो ।
बुटवल १७ मा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्न सर्वसाधारण र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको बताए । ‘निषेधाज्ञा कायम नै छ । कर्फ्यु हटाइएको छ । अवस्था अहिले सामान्य छ । अहिले पनि ठूलो संख्यामा प्रहरी भने परिचालन गरिएको छ,’ प्रजिअ तिवारीले लोकान्तरसँग भने । झडपमा प्रहरी र जग्गा कब्जा गर्ने समूहका ६० भन्दा बढी घाइते भएका छन् ।
औद्योगिक क्षेत्रको अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएपछि बाध्य भएर प्रहरीले गोली चलाउनु परेको बताएको छ ।
FACEBOOK COMMENTS