पोखरा कातिक ४, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठन भएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे जानकारी लिँदै उनले उपलब्ध स्रोत, साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशनसमेत दिए । उनले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमन गरेका हुन् ।
सुरुमा ७ वटा मन्त्रालय रहेकामा पछि युवा तथा खेलकुद मन्त्रालय थप गरेर ८ वटा बनाइएको थियो । अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ११ मन्त्रालय छन् । दसैंअघि बिना विभागीय मन्त्रीमा डोबाटे विश्वकर्मा नियुक्त भएका छन् । साढे ३ वर्षअघि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्ला स्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ । नयाँ स्थापना भएका मन्त्रालयहरु भवन अभावमा साँघुरो गरी सञ्चालनमा आएका छन् । सकेसम्म सरकारी भवन नै खोज्ने नभए भाडामा भए पनि सञ्चालन गरी व्यवस्थापन गरिने मुख्यमन्त्री पोखरेलले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालयको भवनमा राखिएको छ । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको भवनमा राखिएको छ ।
४ वटै मन्त्रालय अनुगमनका क्रममा मुख्यमन्त्री पोखरेलले राजनीतिक परिवर्तनसँगै नयाँ बनेको सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा रहेको बताए । उनले भने, ‘राजनीतिकर्मीको भिजनलाई नियम संगत रुपमा मुर्तरुप दिने कर्मचारीले नै हो, तपाईंहरुले काम गर्ने क्रममा भोगेका असहजतालाई चिर्न हामी तयार छौं, बिना संकोच काम गर्नुहोला ।’
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय अनुगमनपछि मुख्यमन्त्री पोखरेलले नागरिकले प्रत्यक्ष अनुभूति गर्न काम यसै मन्त्रालय मातहतका कार्यालयबाट सम्पादन हुने भएकाले त्यही अनुसार संवेदनशील भएका काम गर्न निर्देशन दिए । ‘नागरिकका अपेक्षा धेरै छन्, बजेटको सिमितता छ, प्रथम चौमासिकपछि केन्द्रबाट पनि बजेट थप भएर आउँछ, त्यसै अनुसार काम हुने नै छ,’ उनले भने ।
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पहिलो चौमासिकमा सम्पादन गर्नुपर्ने अधिकांश काम भइसकेको भन्दै तीव्र गतिमा मन्त्रालय कार्य गरिरहेको बताए । नागरिकसँग प्रत्यक्ष जोडिएका यातायात कार्यालयमा विकृति रहेको स्वीकार गर्दै उनले यी कार्यालयलाई विचौलियारहित बनाउनका लागि आफू लागिपर्ने प्रतिबद्धता जनाए ।
FACEBOOK COMMENTS