काठमाडौं । अमेरिकाबाट फाइजरको १ लाख डोज खोप कात्तिक ८ गते नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कोभ्यास सुविधाअन्तर्गत अमेरिकाले सो खोप उपलब्ध गराएको हो ।
सो खोप नियमित उडानमार्फत नै नेपाल आइपुग्ने आपूर्ति महाशाखाका प्रमुख ढुंगानाले बताए । १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप दीर्घरोगीलाई समेत दिने तयारी भइरहेको महाशाखाले जनाएको छ । खरिद प्रक्रियाबाट थप खोप आउनेबारे भने निश्चितता नभएको आपूर्ति महाशाखाले जनाएको छ ।
सरकारले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम छ । नजिकको खोप केन्द्र तथा अन्य केन्द्रबाट खोप दिइने परिवार कल्याण महाशाखा पोषण शाखाले जनाएको छ । पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार यो वर्ष नियमित खोप केन्द्रभन्दा बढी स्थान ५२ हजार केन्द्रबाट भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम छ। खोप केन्द्र भने १६ हजार संख्यामा छन् ।
नेपालमा भिटामिन ‘ए’ तथा जुकाको औषधि वर्षको दुईपटक लक्षित बालबालिकालाई खुवाउने गरिन्छ । नेपालमा जुकाको औषधि अनिवार्य ६ महिनामा खुवाउनुपर्छ भन्ने सोंच अहिले पनि सबै अभिभावकमा नभएकाले सरकारले स्वास्थ्य कार्यक्रमअन्तर्गत सहभागी गरेको पोषणा शाखाका प्रमुख पराजुलीले बताए। शाखाका अनुसार नेपालमा यसपटक २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य लिएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS