काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारस्थित उनको सरकारी निवासमा सर्वदलीय बैठक सुरू भएको छ ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचन सुरक्षा र राजनीतिक सहमतिको विषयमा दलहरूले व्यक्त गरेका चिन्तालाई सम्बोधन गर्न प्रधानमन्त्रीले यो बैठक बोलाएकी हुन् ।
प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक छलफल गरेकी हुन् । उनी हालैको जेन जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी हुन् ।
बैठकमा प्रमुख १० वटा राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन् । कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल उपस्थित छन् ।
त्यस्तै, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, र जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् ।
एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र जनमत पार्टीका चन्दन सिंह पनि बैठकमा उपस्थित छन् ।
बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पर्यवेक्षकको रूपमा आमन्त्रित गरिएको छ ।
FACEBOOK COMMENTS