काठमाडौं । संसदीय सुनुवाइ समितिले १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।
१७ देशमा राजदूत सिफारिस गरिएकामा १६ देशमा सिफारिस भएका राजदूतको नाम बहुमतबाट अनुमोदन भएको हो ।
श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसा श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो ।
सर्वसम्मत नभई बहुमतबाट नाम अनुमोदन भएकामा दुई सांसदले फरक मत दर्ज गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल र जनता समाजवादी पार्टी, नेपालका प्रकाश अधिकारीले केही राजदूतहरूको नाममा फरक मत राखेका हुन् ।
सांसद अर्यालले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनालाई राजदूत बनाउन नहुने मत राखेका थिए ।
यस्तै सांसद अधिकारीले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको नाममा असहमति राखेका हुन् ।
FACEBOOK COMMENTS