काठमाडौं । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई विश्वास गरेर हेर्ने, बुझ्ने र सोच्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘काठमाडौं बिजनेश एक्सपो, २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘निजी क्षेत्रलाई विश्वास गर्नुपर्यो, हामीलाई हेर्ने, बुझ्ने र सोच्ने दृष्टिकोण परिवर्तन हुनुपर्यो,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रले मात्रै ८१ प्रतिशत योगदान दिइरहेको अवस्थामा समेत निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहकका रूपमा अझै पनि लिन नसक्नु दु:खद् पक्ष हो । राज्यका अङ्गहरूले मन छोटो गर्नुभएन् । अब खुल्ला उदार सोचमा आउनुपर्यो, जेन–जी आन्दोलनले परिवर्तनको सन्देश दिइसकेको छ, अब सबै सच्चिएर परवर्तन भएर आउनुपर्ने छ ।’
यस्तै, उनले मुलुकको दक्ष जनशक्तिलाई देशमै रोजगारी उपलब्ध गराउनुपर्ने पनि बताएका छन् । उपयुक्त शिक्षा प्रणाली नभएको र पाएको शिक्षा अनुसार अवसर नपाउँदा युवायुवतीहरू विदेश पलाउन हुने गरेको उनको भनाइ थियो । ‘हामीकहाँ शिक्षा अनुसार अवसर छैन त्यसैले युवा जमात पलायन भइरहेको छ,’ उनले भने । निजी क्षेत्र र स्थानीय सरकारबीच समन्वय गरेर युवा पलायनलाई रोक्न सकिने उनको भनाइ थियो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मुलुकमा विद्यमान कर प्रणालीका कारण उद्योग–व्यवसाय गर्न असहज भइरहेको चर्चा गर्दै अत्यधिक र अनिश्चित कर प्रणाली हटाउनुपर्ने सुझाव दिएका छन् । सरकारैपिच्छे फेरिने कर प्रणालीले उद्योगी–व्यवसायीहरू आजित भएको उनको भनाइ थियो । ‘खासगरी २०७२ सालपछिका अर्थमन्त्रीहरूले करका दरमा एकरूपमता कायम गर्न सकेका छैनन् । मन्त्रीनैपिच्छे २० देखि २५ प्रतिशत अथवा ३० प्रतिशतसम्म कर बढाएका छन्,’ उनले भने पटक–पटक कर बढाउने मन्त्रीहरूले उद्योग व्यवसाय कसरी बढाउने, रोजगारी कसरी सृजना गर्ने भन्ने विषयमा कहिल्यै सोचेनन् ।’

उनले छिमेकी देशहरूको तुलनामा नेपालमा करको दर निकै बढी रहेको चर्चा समेत गरे । ‘नेपालमा करको दर बढी नै छ । त्यसले हामीलाई थिचेको छ,’ उनले भने, ‘हाम्रै छिमेकी मुलकहरूको कुरा गर्दा पनि क्युबलिटी दर १९ देखि २२ प्रतिशत छन् । भारतमा करका दरहरू ११–१२ प्रतिशतसम्म छ । श्रीलंकका, माल्दिप र बंङलादेशमा ८–९ प्रतिशत कर लगाइने गरिएको छ ।’ नेपालको उच्च करका दरले उद्योगी–व्यवसायी मात्रै नभइ जनमानस पनि थिचिइरहेको उनको भनाइ थियो । अब करको दर घटाउन सबैले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

यसैगरी उनले भृकुटीमण्डमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनस्थल बनाउन सकिने भए पनि सरकारहरूले आश्वासन मात्रै दिएर ढाँट्दै आएको स्मरण गरे । यदि सरकारले नसक्ने भए निजी क्षेत्रलाई जिम्मा दिन पनि उनले आग्रह गरेका छन् ।

काठमाडौं महोत्सवको पूर्ण सफलताको कामना गर्दै उनले निराशाभित्र रुमलिइरहेको व्यापार–व्यवसायलाई चलायमान बनाउन काठमाडौं महोत्सवले महत्वपूर्ण योगदान गरेकामा उच्च प्रसंशा गरे ।

यो पनि पढ्नुहोस्–

‘भृकुटीमण्डपमा हामीलाई देऊ, ४९ वर्षपछि सजावटसहित चिटिक्क पारेर फिर्ता दिन्छौँ’
FACEBOOK COMMENTS