काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादनको बजार विस्तारसँगै किसानबाट दूध खरिद बढाउने अवसर पाएको छ ।
नेपाली सेनासँग भएको नयाँ सम्झौताले डीडीसीका लागि ठूलो परिमाणको नियमित संस्थागत बजार सुनिश्चित गरेपछि दूध संकलन विस्तारको बाटो खुलेको हो ।
सम्झौताअनुसार नेपाली सेनाले मुलुकका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि डीडीसीबाट दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध खरिद गर्नेछ । ठूलो परिमाणमा दैनिक खपत हुने सुनिश्चित भएपछि डीडीसीलाई उत्पादन तथा आपूर्ति व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
दूधमा मात्र सीमित नरहेको सम्झौताअनुसार सेनाले डीडीसीका अन्य उत्पादन पनि नियमित रूपमा खरिद गर्नेछ । सेनाका विभिन्न ब्यारेकमा दैनिक ३६५ लिटर दही, ३७ किलो पनिर र १५ किलो चिज आपूर्ति गर्ने सहमति भएको छ ।
डीडीसी र नेपाली सेनाबीच भएको सहमतिमा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयमा कार्यरत रथी संजयकुमार रञ्जित तथा डीडीसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन् ।

डीडीसीका लागि यो सम्झौताको अर्को महत्वपूर्ण पक्ष भनेको कच्चा दूधको बजार व्यवस्थापन हो । संस्थानले आफ्ना किसानबाट संकलन गर्ने दूधलाई प्रशोधन गरेर ठूलो परिमाणमा नियमित बिक्री गर्न सक्ने अवस्था बनेपछि आगामी दिनमा दूध संकलनको दायरा फराकिलो पार्न सकिने देखिएको छ ।

किसानबाट संकलित दूधको बिक्री सुनिश्चित नहुँदा दुग्ध संस्थानहरूलाई उत्पादन व्यवस्थापनमा चुनौती हुने गरेको अवस्थामा सेनाजस्तो ठूलो संस्थागत ग्राहकसँग भएको सम्झौताले डीडीसीलाई केही हदसम्म स्थिर बजार उपलब्ध गराएको छ । यसबाट किसानबाट थप दूध खरिद गर्ने योजना बनाउनसमेत संस्थानलाई आधार मिल्नेछ ।

देशका विभिन्न भूभागमा रहेका सैनिक ब्यारेकसम्म डीडीसीका उत्पादन नियमित रूपमा पुग्ने भएकाले यसले संस्थानको वितरण सञ्जाललाई समेत विस्तार गर्नेछ । विशेषगरी दही, पनिर र चिजजस्ता प्रशोधित तथा मूल्य अभिवृद्धि भएका वस्तुको खपत बढ्दा डिडिसीको उत्पादन विविधीकरणलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नियमित संस्थागत माग बढेपछि डिडिसीले दूध संकलन, प्रशोधन र वितरणलाई मागअनुसार समायोजन गर्न सक्नेछ । यसले उत्पादन र बजारबीचको असन्तुलन घटाउन तथा किसानबाट संकलित दूधलाई व्यवस्थित रूपमा प्रशोधन गरी बिक्री गर्ने वातावरण बनाउन सहयोग पुग्ने देखिएको छ ।
सेनासँगको सहकार्यलाई डीडीसीले आफ्नो बजार विस्तारको अवसरका रूपमा उपयोग गर्न सकेमा यसको प्रत्यक्ष लाभ दुग्ध किसानसम्म पुग्न सक्छ ।
नियमित खरिदको आधारमा थप दूध संकलन गर्न सकिने अवस्था बनेमा किसानले उत्पादन बढाउन प्रोत्साहन पाउने र डीडीसीको कच्चा पदार्थको आपूर्ति आधारसमेत बलियो बन्ने अपेक्षा गरिएको छ ।