वलपरासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्र अगाडि नबढी कुनै पनि देशको विकास नभएको बताएका छन् ।
जिल्लाको गैँडाकोटमा आइएमई ग्रुपको होटल इलाको आज उद्घाटन गर्दै उनले सरकारको प्रयासले मात्रै कुनै पनि देशलाई अगाडि बढाउन, विकसित गर्न र समृद्धि हासिल गर्न नसकिने बताए । “सरकारको पुँजी र प्रयासले मात्रै सम्पूर्ण कुरा सम्भव हुँदैन । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार, होटल बनाउन सरकारले सक्दैन”, मन्त्री पाण्डेले भने,“निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यमा देशको विकास गर्नुपर्छ भनेर संविधानमै तीनखम्बे अर्थनीतिलाई अङ्गिकार गरिएको छ । यसको पालना गरेर अगाडि बढौँ ।”
उनले हवाई सेवामा पनि निजी क्षेत्रको प्रवेश नभएको भए अहिलेको जस्तो विकासमा पुग्न नसकिने भन्दै निजी क्षेत्रले नै अवस्था सहज बनाएको बताए । “यसै कारण हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । निजी क्षेत्रलाई ऐन, कानुन र नीतिमार्फत सहयोग पु¥याउन सरकारले सहजीकरण गर्ने हो । त्यसमा हामी तयार छौँ । लगानीमैत्री वातावरण बनाउन सम्पूर्ण सहयोग गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री पाण्डेको भनाइ थियो ।
उनले संस्कृति जोगाउनु र पुरातत्व जोगाउनु सबैको दायित्व भएको भन्दै इतिहास जोगाउने र आधुनिक विकासको नयाँ ढोका खोल्ने काम सँगसँगै गर्नुपर्नेमा जोड दिए । मन्त्री पाण्डेले संस्कृति, पर्यटक, हवाई नीति समयसापेक्ष बनाउने विषयमा सरकारले तत्परता देखाएको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं होटल सञ्चालक चन्द्रप्रसाद ढकालले आइएमई ग्रुप सातवटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबलकार र रिसोर्टका योजना बनाएर अगाडि बढेको बताए । उनले नेपालमा पर्यटनको अपार सम्भावना रहेको र त्यसको उजागर गर्न सकेमा पर्यटनमा ठूलो फड्को मार्दै यसैबाट रोजगारी सृजना गर्न सकिने धारणा राखे ।
आइएमई ग्रुपले आजदेखि सञ्चालनमा ल्याएको इला होटल तथा रिसोर्टमा स्वीट तथा डिलक्ससहित ६५ वटा कोठा रहेका छन् । होटलमा एक हजार जना क्षमताको ब्याङ्क्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्वीमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधा उपलब्ध रहेको त्यस अवसरमा जानकारी दिइयो ।
FACEBOOK COMMENTS