काठमाडौं । नेपालको अटोमोबाइल बजारमा बजाज सबैभन्दा लोकप्रिय र भरपर्दो बाइक ब्रान्डहरूमध्ये एक हो।
नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजको आधिकारिक बिक्री वितरण गर्दै आएको छ।
दैनिक यात्रादेखि लिएर लामो टुरिङ र स्पोर्टी राइडिङका लागि बजाजका बाइकहरू नेपाली बाटोमा निकै रुचाइएका छन्।
स्पेयर पार्ट्स सजिलै पाइने, रिसेल भ्यालु राम्रो भएको र सर्भिसिङ नेटवर्क देशभरि छरिएकाले नेपालीहरूका लागि बजाज सधैँ पहिलो रोजाइमा पर्ने गर्छ।
बजाजले नेपाली बजारमा कम्युटर (दैनिक प्रयोग), स्पोर्टी, क्रुजर, र प्रिमियम टुरिङ गरी चारवटा मुख्य श्रेणीमा बाइकहरू उपलब्ध गराएको छ।
नेपालमा बजाजका प्ल्याटिना १०० इएस, डिस्कभर १२५, र १२५ सीसी सेग्मेन्टमा पल्सर सिरिजका ३ वटा फरक–फरक मोडलहरू पल्सर १२५, पल्सर एनएस १२५ र पल्सर एन १२५ उपलब्ध रहेका छन्।
त्यसैगरी पल्सर १५०, पल्सर एन १६०/एनएस १६०, पल्सर एनएस २००, पल्सर २२० एफ, एभेन्जर स्ट्रिट १६०, पल्सर एनएस ४०० जेट, र डोमिनार ४०० चर्चित मोडलहरू उपलब्ध रहेका छन्।
प्ल्याटिना १०० इएस/डिस्कभर १२५
यी दुई पांग्रे सवारीमा उत्कृष्ट माइलेज, सस्तो मर्मत खर्च, आरामदायी सिट र डिजिटल/एनालग मिटर जस्ता फिचरहरू उपलब्ध रहेका छन्।
प्ल्याटिना १०० इएसमा १०० सीसीको इञ्जिन क्षमता रहेको छ भने डिस्कभर १२५ सीसीको इञ्जिन क्षमतामा उपलब्ध छ।
प्ल्याटिना १०० इएसको मूल्य दुई लाख १८ हजार नौ सयबाट सुरु हुन्छ भने डिस्कभर १२५ को मूल्य दुई लाख ५८ हजार नौ सय निर्धारण गरिएको छ।
पल्सर १२५, पल्सर एनएस १२५ र पल्सर एन १२५
यी बाइकमा स्पोर्टी लुक, सीबीएस/एबीएस ब्रेकिङ, डिजिटल कन्सोल, इन्धन जोगाउने प्रविधि, मोडर्न एलईडी हेडलाइट, र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर (ब्लुटुथ कनेक्टिभिटी विकल्पसहित) जस्ता फिचरहरू रहेका छन्। पल्सरका यी सबै मोडलमा १२५ सीसीको इञ्जिन क्षमता रहेको छ।
यी मोडलहरूको मूल्य क्रमशः ३ लाख ४ हजार ९ सय, ३ लाख ३९ हजार ९ सय र ३ लाख १६ हजार ९ सय निर्धारण गरिएको छ।
पल्सर १५०
नेपाली मोटरसाइकल बजारमा लामो समयदेखि अत्यधिक रुचाइएको र सबैभन्दा बढी बिक्री हुने १५० सीसी इञ्जिन क्षमताको बाइक हो, पल्सर १५०।
यसमा डिजिटल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, एलईडी हेडल्याम्प र बीएस६ एफआई इञ्जिन जस्ता फिचरहरू उपलब्ध रहेका छन्।
पल्सर १५० को मूल्य भेरियन्ट अनुसार ३ लाख ६५ हजार ९ सयदेखि ३ लाख ५५ हजार ९ सय सम्म पर्छ।
पल्सर एन १६०/एनएस १६०
यी सवारी १६० सीसीको इञ्जिन क्षमतामा उपलब्ध रहेका छन्। पल्सर एन १६० मा १६४.८२ सीसी र एनएस १६० एफआईमा १६०.३ सीसीको पावरफुल इञ्जिन दिइएको छ।
जसले ८७५० आरपीएममा १६ पीएस म्याक्स पावर र ६७५० आरपीएममा १४.६५ पीएस म्याक्स टर्क उत्पन्न गर्छ।
राम्रो राइडिङ ब्यालेन्सका लागि युएसडी फ्रन्ट फर्क्स सस्पेन्सन दिइएको छ भने एन १६० मा अँध्यारोमा पनि स्पष्ट भिजिबिलिटी दिने बाया–फन्सनल प्रोजेक्टर हेडलाइट र डिजिटल ओडोमिटर जस्ता अत्याधुनिक प्रविधिहरू राखिएका छन्।
नेपाली बजारमा यी बाइकहरूको मूल्य ३ लाख ९२ हजार ९ सयदेखि ४ लाख १९ हजार सम्म रहेको छ।
पल्सर एनएस २००
यसमा १९९.५ सीसीको लिक्विड–कुल्ड, ट्रिपल स्पार्क, फ्युल–इन्जेक्टेड (एफआई) बीएस६ इञ्जिन रहेको छ, जसले ९७५० आरपीएममा २४.५ पीएस पावर र ८००० आरपीएममा १८.७४ एनएम टर्क पैदा गर्छ।
रफ्तार र गियर शिफ्टिङलाई स्मूथ बनाउन यसमा ६–स्पिड गियरबक्स दिइएको छ।
नेपाली बजारमा यसको मूल्य ३ लाख ९३ हजार ९ सयदेखि ४ लाख ५१ हजार ९ सय सम्म रहेको छ।
पल्सर २२० एफ
यसमा २२० सीसीको आयल–कुल्ड, डीटीएस–आई इञ्जिन रहेको छ, जसले ८५०० आरपीएममा २०.४ पीएस पावर र ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ।
यसमा अगाडि आकर्षक सेमी–फेयरिङ डिजाइन, रातिको समयमा उत्कृष्ट भिजिबिलिटी दिने पावरफुल प्रोजेक्टर हेडलाइट, स्पोर्टी राइडिङ फिल गराउने क्लिप–अन ह्यान्डल बार, र लामो दुरीको यात्रामा पनि थकान महसुस हुन नदिने आरामदायी सिट दिइएको छ।
नेपालमा यो बाइक ४ लाख १९ हजार ९ सयदेखि ४ लाख ३९ हजार सम्ममा पाइन्छ।
एभेन्जर स्ट्रिट १६०
यसमा १६० सीसीको इञ्जिन रहेको छ। होचो सिट रहेको छ जसले गर्दा होचो कद भएका राइडरले पनि सहजै चलाउन सक्छन्। यसको मूल्य ३ लाख ८९ हजार ९ सय पर्छ।
पल्सर एनएस ४०० जेट
यसमा ४०० सीसीको इञ्जिन, लिक्विड कुल्ड, र डबल ओभरहेड क्यामसाफ्ट (इञ्जिनको भल्भ नियन्त्रण गर्ने अत्याधुनिक प्रविधि) रहेको छ।
४ वटा राइडिङ मोड्स (रोड मोड, रेन मोड, स्पोर्ट मोड र अफ–रोड मोड) पाउन सकिन्छ। ट्र्याक्सन कन्ट्रोल सिस्टम, राइड बाई वाय प्रविधि, र ४३ मिमी युएसडी फर्क्स फिचरहरू उपलब्ध रहेका छन्।
यसको मूल्य नेपाली बजारमा ५ लाख ७५ हजारदेखि ५ लाख ८० हजार सम्ममा उपलब्ध छ।
डोमिनार ४००
३७३.३ सीसी (लिक्विड कुल्ड) इञ्जिन उपलब्ध छ। यसले ४० पीएस पावर र ३५ एनएम टर्क प्रदान गर्छ। ६ वटा गियर (सलिपर क्लचसहित), लामो यात्राका लागि विन्डशिल्ड, ह्यान्ड गार्ड, लगेज क्यारियर र इञ्जिन गार्ड पहिले नै जडान गरिएका छन्।
त्यसैगरी राति राम्रो देखिने एलईडी बत्ती र सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल जस्ता फिचरहरू रहेका छन्। यसको मूल्य ६ लाख २२ हजार ९ सयदेखि ६ लाख २५ हजार सम्म पर्छ।