काठमार्डौं । विराटनगर । डोजर चलाएर सुकुम्वासी र भूमिहीनलाई बिचल्ली पारेको भन्दै झापा क्षेत्र नं ५ का भूमिहीन सुकुम्वासी आन्दोलित बनेका छन् ।
आफूले जिताएर पठाएको व्यक्ति नै प्रधानमन्त्री बनेपछि सुकुम्वासी र भूमिहीनहरूलाई बिचल्ली पारेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह झापा ५ बाट अत्यधिक मतका साथ विजयी भएका थिए । शाहलाई निर्वाचित गराएको दुई महिना नबित्दै त्यहाँका मतदाताले उनी विरुद्ध दिनहुँ नारा जुलुस गर्दै आएका छन् । बुधवार झापा ५ को मुख्य सहरी क्षेत्र दमकमा सुकुम्वासीहरूले सरकार विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरे ।
उनीहरूले अर्को बन्दोबस्त नमिलाई वर्षौँदेखि बसोबास गरी रहेको ठाउँबाट सुरक्षाकर्मी र डोजर चलाएर उठिबास गराउन नहुने बताए ।
अखिल नेपाल सुकुमबासी सङ्घको आयोजनामा निकालिएको र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रममा गरेको थियो ।

