काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशनअन्तर्गत मंगलबार भएको निर्वाचनमा ६ जना उम्मेदवारले बराबरी मत पाएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार वस्तुगत सदस्यतर्फका अन्तिम चार जना उम्मेदवार र जिल्ला/नगरतर्फ सुदूरपश्चिम प्रदेशका दुई जना उम्मेदवारले समान प्राप्त गरेका हुन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार निराजन बहादुर चलाउने (नेपाल संगीत उद्योग संघ), विप्लव अधिकारी (नेपाल औषधि उत्पादक संघ), सुरज वञ्जाडे (फुटवयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल) र रघुनन्दन मारु (नेपाल सिमेन्ट उत्पादक संघ) ले समान ५०/५० मत प्राप्त गरेका छन् । यस्तै जिल्ला/नगरतर्फ सुदूरपश्चिम प्रदेशका दानबहादुर सुर्मेली (बझाङ उद्योग वाणिज्य संघ) र पदमराज चौलागाईं (लम्कीचुहा उद्योग वाणिज्य संघ) ले समान ७/७ मत प्राप्त गरेका छन् ।
कार्यकाल बाँड्ने वा गोलाप्रथाद्वारा पूरै कार्यकाल काम गर्ने भन्ने सन्दर्भमा ती उम्मेदवारहरूसँग भएको छलफलबाट कार्यकाल आधा–आधा गर्ने सहमति भएको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले कर्पोरेट खबरलाई जानकारी दिए । सहमति अनुसार वस्तुगततर्फका निराजनबहादुर चलाउने र विप्लव अधिकारीले भोलिदेखि डेढ वर्ष तथा सुरज वञ्जाडे र रघुनन्दन मारुले त्यसपछिको डेढ वर्षे कार्यकाल काम गर्ने छन् ।
सुदूर पश्चिम प्रदेशका दानबहादुर सुर्मेली र पदमराज चौलागाईंबीच पनि सोही प्रकृतिको सहमति जुटेको छ । तर, कसले अगाडि र कसले पछाडिको कार्यकाल सम्हाल्ने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । भोलि बिहीबार हुने पदभार ग्रहणअघिको बैठकमा त्यसबारे सहमति गरिने उनको भनाइ छ ।

निर्वाचनको सम्पूर्ण मत परिणाम हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस्–
वस्तुगततर्फ चार उम्मेदवारले पाए समान ५०/५० मत, यी हुन् निर्वाचित ११ सदस्य
महासंघ निर्वाचन : जिल्ला/नगर उपाध्यक्षमा शर्मा र श्रेष्ठ विजयी
उद्योग वाणिज्य महासंघको एसोसिएट्स उपाध्यक्षमा प्रवल जंग पाण्डे निर्वाचित