काठमाडौं । चलचित्र ‘लालीबजार’ले प्रदर्शनको बाटो खुलेसँगै रिलिज डेट लिएको छ । ‘लालीबजार’ यही शुक्रबार (वैशाख २५) गतेबाट रिलिज हुने भएको छ ।
“हामी यही शुक्रबारबाट हलमा आउनेछौँ । अदालतले प्रदर्शनको बाटो खोलिसकेको अवस्थामा हामीले वैशाख २५ गतेबाट सिनेमा प्रदर्शनमा ल्याउने निर्णय गर्यौँ,” निर्माता रवीन्द्र सिंह बानियाले बाह्रखरीसँग भने ।
‘लालीबजार’लाई उच्च अदालत पाटनको संयुक्त इजलासले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएपछि चलचित्र ‘लालीबजार’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले बुधबार यसअघि एकल इजलासबाट चलचित्र प्रदर्शन रोक्न जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरिदिएको छ ।
यो चलचित्र वैशाख १५ मा आउने तयारीमा थियो । तर, प्रदर्शन रोक्न माग गर्दै रिट दायर भएपछि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । यम थापाले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् ।
