राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर बीचको औसत अन्तर ४.४ प्रतिशतबाट चैतमा ४.२ प्रतिशत हुँदै असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकाले यसलाई समायोजन गर्न पनि बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने हुन्छ ।
काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् ।
बुधबार विहान बसेको नेपाल बैंकर्स संघको बैठकले १ वैशखदेखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको उपाध्यक्ष सन्तोष कोइरालाले बताए ।
१ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको उनले बताए । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । बैंकहरुले १.०१ प्रतिशत विन्दुले घटाउने निर्णय गरेका हुन् ।
यस्तै बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५०प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय भएको कोइरालाले जानकारी दिए । अहिले बचतमा बैंकहरुले ६ देखि ८ प्रतिशत ब्याजदर दिंदै आएका छन् ।
सबै तिरबाट एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग आएपछि एकल अंक हुने गरी नै ब्याजदर घटाएको उपाध्यक्ष कोइरालाले बताए ।
तर कर्जाको विषयमा भने कुनै निर्णय गरिएको छैन । कर्जाको ब्याजदरको विषयमा आधार दरले नै निर्णय गर्ने भएकाले चैत मसान्तपछि बैंकहरुको वास्तविक आधार दर सार्वजनिक हुने उनले बताए ।
अहिले बैंकहरुले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणको ब्याजदर निर्धारण गर्दै आएका छन् ।
राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर बीचको औसत अन्तर ४.४ प्रतिशतबाट चैतमा ४.२ प्रतिशत हुँदै असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकाले यसलाई समायोजन गर्न पनि बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने हुन्छ ।
FACEBOOK COMMENTS