भक्तपुर । भक्तपुरका नेवार समुदायले विजयादशमीका दिन परम्परागत रूपमा मनाइने मोहनी नखः पर्व मनाएका छन् । यस अवसरमा उनीहरूले मान्यजनको हातबाट कालो टीका (मोहनी सिःनं), रातो टीका र जमरा ग्रहण गरेका छन् ।
नेवार समुदायमा मोहनी नखःको विशेष सांस्कृतिक र धार्मिक महत्त्व छ । नवदुर्गा भवानीको पूजा आराधनाका क्रममा महानवमीको दिन घरघरमा दियो बालेर त्यसबाट निस्किएको कालो ध्वाँसो सङ्कलन गरिन्छ । त्यही कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग गर्ने परम्परा रहेको छ ।
संस्कृतिकर्मी प्रकाश कायस्थका अनुसार विजयादशमीमा शक्ति र विजयको प्रतीकका रूपमा रातो टीका, जमरा र निधारको बीचमा कालो टीका लगाएर मोहनी नखः मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा समेत यस पर्वलाई लिने गरिएको उनले बताए ।
धार्मिक मान्यताअनुसार त्रिपुरासुन्दरी भगवतीले महिषासुर राक्षसको वध गरेको प्रसङ्गसँग पनि यस पर्वलाई जोडेर हेरिन्छ । मोहनी सिःनंलाई तान्त्रिक तथा आध्यात्मिक शक्तिको प्रतीकका रूपमा ग्रहण गर्ने परम्परा नेवार समुदायमा रहिआएको छ ।
मोहनी नखःका अवसरमा भक्तपुरस्थित ब्रह्मायणी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । घरघरमा कालो टीका लगाएपछि बाजागाजासहित ब्रह्मायणी मन्दिर पुगेर पूजा तथा दर्शन गर्ने चलनअनुसार हजारौँ भक्तजन मन्दिर पुगेका छन् ।

यस पर्वको समापन भने तलेजुमा हुने खड्ग जात्रासँग जोडिएको छ । मध्यरातमा तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि नवदुर्गा देवगण ब्रह्मायणीबाट तलेजु पुगेर पूजा तथा विधि पूरा गर्ने परम्परा रहेको कायस्थले बताए । त्यसपछि नवदुर्गा र खड्ग जात्रासहित तलेजुको रथयात्रा तथा नगर परिक्रमा गरिन्छ । तलेजुको वाहन मानिने सेतो घोडासमेत जात्रामा सहभागी हुने परम्परा छ ।

मोहनी नखः कहिलेदेखि सुरु भयो भन्ने यकिन ऐतिहासिक प्रमाण नरहे पनि तन्त्रयानको प्रादुर्भावसँगै यो पर्व मनाउन थालिएको मान्यता छ । राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट तलेजु भवानीलाई नेपाल ल्याएपछि मोहनी नखः मनाउन थालिएको भन्ने जनश्रुतिसमेत प्रचलित छ ।

मोहनी नखःको अर्को विशेषता ‘नखत्या’ हो । यस अवसरमा छोरीचेलीलाई निमन्त्रणा गरेर भोज खुवाउने चलन रहेको छ । नेवार समुदायसँगै बौद्ध धर्मावलम्बीले पनि आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यो पर्व मनाउने गरेका छन् ।