काठमाडौं । नेपालगन्ज । धार्मिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायले एकअर्काका चाडपर्वमा सहभागी हुँदै आपसी सद्भाव र भाइचाराको सन्देश दिएका छन् । बडादसैँको अवसरमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर दसैँ मनाएका छन् ।
नेपालगन्जमा लामो समयदेखि दुवै समुदायले एकअर्काका चाडपर्व मिलेर मनाउँदै आएका छन् । मुस्लिम समुदायका अगुवाहरूले दसैँमा टीका तथा जमरा लगाउने र हिन्दु समुदायका सदस्यहरू मुस्लिमका चाडपर्वमा सहभागी हुने परम्पराले सामाजिक एकता बलियो बनाएको छ ।
स्थानीय मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर दसैँ मनाएका छन् । उनले दसैँ, तिहार, रक्षाबन्धन र होलीलगायतका पर्व दुवै समुदाय मिलेर मनाउँदै आएको बताए । मुस्लिम समुदायका ईद, बकर इद, मोहर्रम र मोहम्मद डे जस्ता पर्वमा पनि हिन्दु समुदायका सदस्यलाई निमन्त्रणा गरेर सँगै खुसी साट्ने गरिएको उनको भनाइ छ ।
त्यस्तै, मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष तथा पूर्ववडाध्यक्ष सफिक नद्दाफले पनि हिन्दु समुदायका आफन्त तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरेका छन् । उनले आफूभन्दा सानालाई टीका लगाएर आशीर्वादसमेत दिएका छन् ।
दुवै समुदायका चाडपर्वमा सहभागी हुने परम्पराले आपसी सम्बन्ध अझ प्रगाढ बनाएको नद्दाफले बताए । वर्षौंदेखि एकअर्काका पर्वमा सहभागी हुँदै आएको उल्लेख गर्दै उनले मिलेर चाडपर्व मनाउँदा छुट्टै खुसी मिल्ने बताए ।

यसैगरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र मुस्लिम अगुवा हाजी रहमान मियाँले पनि हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिएका छन् । उनीहरूले सबै धर्म र समुदायका पर्वलाई सम्मान गर्दै मिलेर मनाउँदै आएको बताएका छन् ।

हिन्दु समुदायका अगुवा कृष्णप्रसाद श्रेष्ठले पनि नेपालगन्जमा एकअर्काका चाडपर्वमा सहभागी हुने परम्परा प्रशंसनीय रहेको बताए । आफू मुस्लिम समुदायका पर्वमा उनीहरूको घरमै पुगेर सहभागी हुने गरेको उनको भनाइ छ ।

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीलाई दसैँको शुभकामना दिएका छन् । शारीरिक अस्वस्थताका कारण यसपटक प्रत्यक्ष भेट्न नसके पनि उनले बुधबार बिहानै फोनमार्फत शुभकामना व्यक्त गरेका हुन् ।

नेपालगन्जमा दुवै समुदायका धार्मिक अगुवाले समेत एकअर्काका पर्वमा सहभागी हुँदै आएका छन् । दसैँ, ईदलगायतका अवसरमा आपसमा भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने परम्पराले धार्मिक सहिष्णुता र सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेको छ ।