काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तार गर्ने उद्देश्यले नेपाल महिला च्याम्बरले ‘च्याम्बर बजार’ सञ्चालन गर्ने भएको छ।
नेपाल महिला च्याम्बरका अनुसार आगामी असोज १७ गते शनिबारदेखि काठमाडौंको जमलस्थित नेपाल चेम्बर अफ कमर्सको भवनमा हरेक शनिबार ‘च्याम्बर बजार’ सञ्चालन हुनेछ। बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुसँगै आयात–निर्यातसँग सम्बन्धित सामग्रीको समेत प्रदर्शन, प्रवर्द्धन र बिक्री गरिनेछ।
महिला उद्यमीले उत्पादन गरेका सामानलाई बजारसम्म पुर्याउने र उपभोक्तासम्म प्रत्यक्ष पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको हो। विशेषगरी साना तथा घरेलु तहमा उद्यम गरिरहेका महिलाका उत्पादनलाई बजार उपलब्ध गराउँदै व्यवसाय विस्तारमा सहयोग गर्ने लक्ष्य राखिएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले महिला उद्यमीका उत्पादनलाई बजारसँग जोड्न ‘च्याम्बर बजार’ उपयोगी हुने बताए। “महिला उद्यमीका उत्पादनलाई बजारसम्म पुर्याउनु आवश्यक छ,” अग्रवालले भने, “यस्ता कार्यक्रमले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्छ।”
उनका अनुसार महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजार विस्तारसँगै उपभोक्ताले पनि स्थानीय तथा स्वदेशी उत्पादन सहज रूपमा प्राप्त गर्ने अवसर पाउनेछन्।

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले पनि महिला उद्यमीलाई बजारको पहुँच दिलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्। “महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउने हाम्रो प्रयास हो,” श्रेष्ठले भनिन्, “उत्पादनसँगै व्यवसाय विस्तारका लागि पनि सहयोग पुग्नेछ।”

च्याम्बर बजारमा उत्पादनको बिक्री र प्रवर्द्धनसँगै उद्यमशीलता विकासका कार्यक्रमसमेत सञ्चालन गरिनेछ। उद्यम गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक महिलाका लागि सरकारी प्रक्रिया, व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

त्यस्तै, सीप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षणजस्ता गतिविधि पनि बजारसँगै सञ्चालन गरिने आयोजकले जनाएको छ।
नेपाल महिला च्याम्बरकी सचिव इरा प्रसाईंले च्याम्बर बजारलाई केवल व्यापारिक मेला नभई महिला उद्यमीको आर्थिक सशक्तीकरण र बजार पहुँच विस्तार गर्ने अभियानका रूपमा अघि बढाउन खोजिएको बताइन्।
“च्याम्बर बजारलाई केवल व्यापारिक मेला नभई महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तार गर्ने अभियानका रूपमा अघि बढाउने उद्देश्य हो,” प्रसाईंले भनिन्, “महिलालाई आफ्ना उत्पादनको बजार विस्तार गर्ने अवसर दिनुका साथै नयाँ उद्यम सुरु गर्न चाहने महिलालाई पनि व्यवसायमा आकर्षित गर्ने लक्ष्य छ।”
महिला उद्यमीका उत्पादनले बजार पाउन नसक्दा व्यवसाय विस्तारमा समस्या हुने गरेको अवस्थामा च्याम्बर बजारले उत्पादनकर्ता र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ।
यसबाट काठमाडौंमा मात्र नभई उत्पादन गर्ने महिलाको पहुँच तल्लो तहसम्म विस्तार गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ। स्थानीय तथा घरेलु स्तरमा उत्पादन भएका सामग्रीलाई उपभोक्तासम्म पुर्याउने र आमसर्वसाधारणलाई समेत विभिन्न वस्तु सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था समेत गरिनेछ। यसले महिला उद्यमीका उत्पादनको प्रवर्द्धनसँगै सर्वसाधारण उपभोक्तालाई पनि लाभ पुग्ने अपेक्षा गरिएको छ।
जमलबाट सुरु गर्न लागिएको ‘च्याम्बर बजार’लाई आगामी दिनमा देशका अन्य प्रमुख शहर तथा विभिन्न क्षेत्रमा समेत विस्तार गर्ने योजना नेपाल चेम्बरले बनाएको छ। क्रमशः देशभर सञ्चालन गर्दै महिला उद्यमीका उत्पादनलाई स्थानीय बजारदेखि राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखिएको चेम्बरले जनाएको छ।