काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवद्र्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘च्याम्बर बजार’ सुरु भएको छ ।
नेपाल महिला च्याम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा शनिबारदेखि ‘च्याम्बर बजार’ सञ्चालनमा आएको हो । बजार हरेक शनिबार सञ्चालन हुने आयोजकले जनाएको छ ।
च्याम्बर बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुका साथै आयात–निर्यातसँग सम्बन्धित सामग्रीको प्रदर्शन, प्रवद्र्धन तथा बिक्री गरिनेछ ।
विशेषगरी साना तथा घरेलु तहमा उद्यम गरिरहेका महिलाका उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याउने र बजार विस्तारमा सहयोग गर्ने उद्देश्य राखिएको छ ।
नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउन च्याम्बर बजारले सहयोग गर्ने बताइन् ।



“महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउने हाम्रो प्रयास हो,” श्रेष्ठले भनिन्, “उत्पादनसँगै व्यवसाय विस्तारका लागि पनि सहयोग पुग्नेछ।”
त्यस्तै, नेपाल महिला च्याम्बरकी सचिव इरा प्रसाईंले च्याम्बर बजारलाई व्यापारिक कारोबारमा मात्र सीमित नराखी महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तारको अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको बताइन् ।

“च्याम्बर बजारलाई केवल व्यापारिक मेला नभई महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तार गर्ने अभियानका रूपमा अघि बढाउने उद्देश्य हो,” प्रसाईंले भनिन्, “महिलालाई आफ्ना उत्पादनको बजार विस्तार गर्ने अवसर दिनुका साथै नयाँ उद्यम सुरु गर्न चाहने महिलालाई पनि व्यवसायमा आकर्षित गर्ने लक्ष्य छ।”
बजारमा उत्पादनको बिक्री तथा प्रवद्र्धनसँगै उद्यमशीलता विकाससम्बन्धी गतिविधिसमेत सञ्चालन गरिनेछ । उद्यम गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक महिलाका लागि सरकारी प्रक्रिया, व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
यसैगरी सीप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम र नि:शुल्क स्वास्थ्य परीक्षणजस्ता गतिविधिसमेत च्याम्बर बजारसँगै सञ्चालन गरिनेछन् ।
महिला उद्यमीले उत्पादन गरेका वस्तुले पर्याप्त बजार नपाउँदा व्यवसाय विस्तारमा समस्या हुने गरेको अवस्थामा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा च्याम्बर बजारलाई अघि बढाउन खोजिएको आयोजकको भनाइ छ ।
बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था पनि गरिएको छ । यसबाट महिला उद्यमीका उत्पादनको प्रवद्र्धनसँगै सर्वसाधारण उपभोक्ताले स्थानीय तथा स्वदेशी उत्पादन सहज रूपमा खरिद गर्न पाउने अपेक्षा गरिएको छ ।
जमलबाट सुरु भएको च्याम्बर बजारलाई आगामी दिनमा काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य प्रमुख शहर तथा विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना रहेको नेपाल चेम्बरले जनाएको छ ।