काठमाडौं । नेपाली महिलाहरू घरेलु काममा मात्र सिमित नरही साना व्यवसाय सुरु गर्दै आज एक उद्यमीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।
कुनै समय घर र भान्सामै सिमित रहेका महिला आज उत्पादन, हस्तकला, खाद्य प्रशोधन, मौरीपालन, प्रविधि तथा निर्यातमुखी उद्योगमा समेत आफ्नो पहिचान बनाउन थालेका छन् । आफ्नै सीप, मेहनत र उद्यमशीलताका माध्यमबाट उनीहरूले रोजगारी सिर्जना गर्नुका साथै परिवारको आर्थिक अवस्था सुधार्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको माग बढ्दै जाँदा महिला उद्यमीका लागि नयाँ अवसर सिर्जना भएका छन् । हस्तकलाका सामग्री, ढाका कपडा, अचार, तथा अन्य स्थानीय उत्पादनमार्फत महिलाहरूले आफ्नो व्यवसायलाई व्यावसायिक स्वरूप दिइरहेका छन् ।
आज तपाईंसामु यस्तै कथा लिएर आएका छौं । ती महिलाहरूको कथा जसले तिमीले गर्ने काम होइन भन्दा पनि रोकिएनन् र अगाडि बढे । त्यस्तो महिलाको कथा जुन कामलाई काम मानिदैन थियो त्यो कामलाई ब्राण्ड बनाएर देखाए । त्यस्तो महिलाको कथा जो २५० रुपैयाँबाट सुरु गरेको उद्योगलाई लाखौँको बनाउन सफल भए ।
जुत्ता बेचेर दुई वर्षमा किनिन् घडेरी

एक समय थियो, जब गोठाटारकी चम्पा नेपालले घर खर्च चलाउन वा आफ्ना आवश्यकता पूरा गर्न अरूको अगाडि हात फैलाउनु पथ्र्यो । समाजका केही मान्छेले ‘बाहुनकी छोरीले सार्कीको जस्तो काम गर्ने होइन’ भन्दै उनलाई निरुत्साहित गर्न पनि खोजे ।


परिवारको साथ थिएन, छोराछोरी र बिरामी सासूससुराको जिम्मेवारीको पहाड उनीमाथि थियो । तर, चम्पाले यी जिम्मेवारीका बाबजुद आफ्नै हत्केलाको रेखा बदल्ने कठिन तर साहसी निर्णय गरिन् ।


२०७९ साल असोजमा उनले जुत्ता बनाउने १५ दिने तालिम लिन सुरु गरिन् । यद्यपि, घरायसी अप्ठ्याराहरूका कारण १० दिनभन्दा बढी तालिम लिन पाइनन् । तर जति सिकिन्, त्यसलाई खेर भने जान दिइनन् ।
श्रीमानको साथ र आफ्नै अदम्य साहसले उनलाई रोक्न सकेन । त्यसपछि २०७० मंसिर १२ गते ५ हजार रुपैयाँबाट उनले मखमल र ढाकाको जुत्ता उत्पादन गर्ने सानो उद्योग सञ्चालन सुरु गरिन् । त्यही ५ हजारको लगानी आज बढेर २० लाख रुपैयाँभन्दा बढीको उद्योगमा परिणत भएको छ ।

शुरुमा जम्मा दुई प्रकारका मात्र जुत्ता बनाउन जान्ने चम्पाले आज आफ्नो सीपलाई परिष्कृत गर्दै ४० भन्दा बढी प्रकारका आकर्षक जुत्ता–चप्पलहरू तयार पार्छिन् । उनका उद्योगमा १५० रुपैयाँदेखि बन्ने यी कलात्मक उत्पादनहरू देशका विभिन्न बजार हुँदै सात समुद्रपारि विदेशसम्म निर्यात हुने गरेका छन् । विवाहको सिजन होस् वा चाडपर्व, उनको उद्योगमा जुत्ता पुर्याउन भ्याइनभ्याइ हुन्छ ।

जुत्ता बेचेको कमाइबाटै मात्र दुई वर्षमा घडेरी जोड्न सफल भएकी चम्पा आज केवल एक उद्यमी मात्र रहेकी छैनन्, उनी नौ जनालाई रोजगारी दिने रोजगारदाता र महिलाहरूलाई सीप सिकाउने प्रेरणादायी प्रशिक्षक पनि बनेकी छिन् । श्रीमानसँग पैसा माग्ने बाध्यताबाट मुक्त भएर आज श्रीमानलाई नै पैसा दिन सक्ने बनेकी छिन् ।

देशका विभिन्न जिल्लाहरूमा पुगेर महिलाहरूलाई आत्मनिर्भर बनाउँदै हिँडेकी चम्पाको सपना अब नेपालको मखमल र ढाकाको जुत्तालाई अन्तर्राष्ट्रिय बजारमा अझै व्यापक रूपमा फैलाउने छ । समाजका लाञ्छना र अभावका पर्खालहरूलाई पन्छाउँदै चम्पाले साबित गरिदिएकी छिन्, सीप र आत्मबल छ भने महिलाहरूले चाहेको संसार बदल्न सक्छन् ।
दुई सय ५० ले सुरु गरेको अचार व्यवसाय
बालाजुकी मञ्जु ढकाल बालाजु हाइट टौदलमा अचार व्यवसाय गर्दै आएकी छन् । उनको उद्योगको नाम ‘कनान अचार उद्योग एण्ड अर्गानिक मार्ट’ हो । दुई सय ५० रुपैयाँले घरबाटै अचार व्यवसाय सुरु गरेकी उनले महिनामा २० / २२ लाखसम्म आम्दानी गरिन् ।

घरबाटै सुरु भएको उनको अचार व्यवसायले ६ जनालाई रोजगारी पनि दिएको छ । १८ वर्षदेखि यो व्यवसायमा आबद्ध ढकाल आज अचार व्यवसायमा मात्र सीमित छैनन् । ५०/६० जनालाई अचार तालिम दिसकेकी छन् । उनकै विद्यार्थीहरू आज अचार व्यवसायी बनिसकेका छन् ।

उनको अचार उद्योगमा भेज, ननभेज गरी ३५ भन्दा धेरै थरीका अचारहरू बन्छन् । जुन अचार नेपाली ग्राहकले मात्र रुचाएका छैनन् । विदेशमा समेत निर्यात हुने गरेको छ । अर्गानिक होममेड अचार भएकाले ग्राहकले कनानको अचार मन पराएको उनी बताउँछिन् ।

केही महिना अगाडि ढकाल ठूलो दुर्घटनामा परिन् । त्यतिबेला उनको हातमा गम्भीर चोट लाग्यो । तीन महिना मात्र भयो उनी व्यवसायमा फर्किएको । दुर्घटनाका कारण गम्भीर चोट लाग्दा समेत उनले हार खाइनन् र लामो उपचारपछि उनी फेरि आफ्नो व्यवसायमा फर्किएकी छन् ।

उद्यमी महिलाहरूले केही गर्न खोजे पनि स्थानीय सरकार, केन्द्र सरकारले भने केही नगरिदिदा दु:ख लाग्ने उनी बताउँछिन् । माग बढ्दा पनि लगानीको अभावका कारण माग अनुसारको अचार उत्पादन गर्न नसकेको उनी बताउँछिन् ।
‘अष्ट्रेलियाबाट ४/५ सय टन अचारको अर्डर आएको थियो तर माग अनुसार दिन पाइएन, त्यस्तो भयो भने दु:ख लाग्छ ।’ मञ्जु ढकाल भन्छिन् । सरकारले दिइरहेको सहुलियतपूर्ण ऋण पनि महिला उद्यमीहरूले नपाएको अवस्था रहेको उनी बताउँछिन् ।
अरू महिला दिदीबहिनीहरूलाई पनि तालिम दिँदै आएकी उनले कुनै पनि महिला दुई वर्षको काखे बालक छोडेर विदेश जान नपरोस्, नेपालमै सीप सिकेर आत्मनिर्भर होऊन् भन्ने उनी चाहन्छिन् । त्यसैले महिलाहरूलाई तालिम पनि दिइरहेकी छन् ।
घरपरिवारको उपेक्षा चिर्दै निहारिका
नेपाली समाजमा सामान्यतया कुरुसले ऊन वा धागो बुन्ने कामलाई कुनै व्यावसायिक पेसा मानिँदैन, बरु यसलाई गृहिणीहरूको ‘फुर्सदको समय कटाउने माध्यम’ वा ‘टाइम पास’ मात्रै भन्ने गरिन्छ ।
तर, ललितपुरको खोकनाकी निहारिका डंगोलले यही परम्परागत बुझाइलाई चुनौती दिँदै यसलाई एउटा प्रतिष्ठित फेसन ब्रान्डमा रूपान्तरण गरेकी छिन् । परिवारको साथ र समाजको शङ्कालाई चिर्दै उनले सुरु गरेको ‘ज्या क्रोसे फेसन’ आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

फेसन डिजाइनमा स्नातक गरेकी निहारिकाले जब कुरुस बुन्ने कलालाई नै आफ्नो व्यावसायिक पहिचान बनाउने निर्णय गरिन्, तब परिवार र समाजबाट पहिलो प्रतिक्रिया नै ‘यस्तो काम पनि गरेर हुन्छ’ र भन्ने थियो ।
तर, मनभित्रैदेखि आफ्नै रुचिको काममा केही गर्ने अठोट बोकेकी उनले अरूको हतोत्साही शब्दलाई प्रोत्साहनको रूपमा लिइन् । नेवारी भाषामा ‘ज्या’ को अर्थ ‘काम’ हुन्छ । समाजले ‘यो कामै होइन’ भनेर घोचिरहेको शब्दलाई नै चुनौती दिँदै उनले आफ्नो ब्रान्डको नाम ‘ज्या क्रोसे’ राखिन् र यो पनि एउटा सम्मानित र सशक्त पेसा हो भनेर व्यावहारिक रूपमै प्रमाणित गरिन् ।

लकडाउनको कोलाहलबाट जन्मिएको ‘ज्या क्रोसे’ सन् २०१९ को कोभिड–१९ महामारी र त्यसपछिको लकडाउन निहारिकाको जीवनमा टर्निङ पोइन्ट साबित भयो । घरभित्रै थुनिनुपर्ने बाध्यतालाई उनले अवसरमा परिणत गरिन् । बाल्यकालमा दिदीहरूलाई सहयोग गर्दा सिकेको र कलेजको थेसिसमा समेत सफल प्रयोग गरिसकेको यही कुरुस कलालाई उनले व्यावसायिक अनलाइन व्यापारको रूपमा अगाडि बढाएकी हुन् ।
हाल अनलाइनमार्फत देशैभर आफ्ना उत्पादनहरू पुर्याइरहेकी निहारिकाले स्वेटर, ह्याट, टोपीदेखि किरिङ र आकर्षक डलहरूसम्म निर्माण गर्दै आएकी छिन् । उनकाे यी डिजाइनहरू सामान्य नागरिकदेखि सेलिब्रेटीसम्मको रोजाइमा पर्ने गरेका छन् ।



अरूलाई पनि आत्मनिर्भर बनाउँदै निहारिका आफूले मात्रै कमाउने होइन । यसका साथै, विभिन्न संघसंस्थाका विद्यार्थी र सिकारुहरूलाई कुरुस बुन्ने तालिमसमेत दिइसकेकी छिन् ।
विदेश मोहभन्दा स्वदेशमै सुनौला अवसर । देशका युवाहरूमा बढ्दो विदेश मोहका माझ निहारिकाको तर्क बिलकुल भिन्न छ । निहारिका अब आफ्नो ‘ज्या क्रोसे’ ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने सोचका साथ अगाडि बढिरहेकी छन् ।
व्यवसायमा जम्दै गरेका चम्पा नेपाल, मञ्जु ढकाल र निहारिका दंगोल त प्रतिनिधी पात्र मात्र हुन् । यसरी आफुलाई घरभित्र मात्र सिमित नराखी व्यशायमा संघर्ष गरेका महिलाहरु हजार्राैं छन् ।
तर उद्योग क्षेत्रमा महिलाको यात्रा सहज भने छैन । व्यवसाय विस्तारका लागि आवश्यक पुँजी जुटाउन कठिनाइ, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोको अभाव, आधुनिक प्रविधिमा सीमित पहुँच, बजार व्यवस्थापनको चुनौती र घरायसी जिम्मेवारीको दोहोरो भार उनीहरूले सामना गर्नुपरेका समस्या भने उस्तै छन् । । कतिपय महिला उद्यमीले आफ्ना उत्पादनको उचित मूल्य पाउन, ब्रान्ड स्थापित गर्न र ठूला बजारसम्म पुग्नसमेत कठिनाइ भोगिरहेका छन्।
महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकारले सहुलियतपूर्ण कर्जा, व्यावसायिक तालिम, आधुनिक प्रविधि, गुणस्तर प्रमाणीकरण र प्रभावकारी बजारीकरणमा सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ । महिला नेतृत्वका उद्योगलाई सरकारी तथा निजी क्षेत्रका खरिद प्रक्रियामा अवसर दिनुका साथै व्यवसाय दर्ता र सञ्चालनसम्बन्धी प्रक्रिया सरल बनाउन सके उनीहरूको सहभागिता अझ बढ्न सक्छ ।
नेपाली महिलाहरूले उद्योग क्षेत्रमा हासिल गरिरहेका उपलब्धि उनीहरूको मेहनत र क्षमताको परिणाम मात्र होइन, आर्थिक तथा सामाजिक परिवर्तनको संकेत पनि हो । उचित अवसर, लगानी र नीतिगत सहयोग प्राप्त भएमा नेपाली महिला उद्यमीले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो पहिचान थप मजबुत बनाउन सक्ने सम्भावना रहेको यो कथा बाट स्पष्ट हुन्छ ।