काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विराटनगरमा सम्पन्न वार्षिक साधारण सभाले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
साधारण सभाले आर्थिक, प्रशासनिक तथा क्रिकेट विकाससँग सम्बन्धित प्रस्तावहरू पारित गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।
साधारण सभाले नेपाल क्रिकेट संघको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय कार्यसमितिबाट प्रस्तुत सन् २०२६ को वार्षिक कार्यक्रम, कार्ययोजना तथा बजेट पनि पारित गरिएको छ । साथै एसियाली क्रिकेट परिषद् वा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट थप कार्यक्रम प्राप्त भएमा वार्षिक कार्यक्रम र बजेटमा आवश्यक समायोजन गरी कार्यान्वयन गर्न केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिने निर्णय गरिएको छ ।
साधारण सभाले नेपाल क्रिकेट संघको आयोजनामा सम्पन्न पहिलो र दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको आयव्यय विवरण पनि पारित गरेको छ । यसैगरी नेपाल प्रिमियर लिगबाट प्राप्त आम्दानीमध्ये सम्पूर्ण ४५ जिल्ला क्रिकेट संघलाई जनही दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको छ । जिल्ला संघहरूले सञ्चालन गर्ने कार्यक्रमको आधारमा जिल्लाहरूलाई स्कोर कार्ड अनुदान उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
त्यस्तै नेपाल क्रिकेट संघले यस वर्षदेखि प्रत्येक वर्षको डिसेम्बरमा वार्षिक पुरस्कार घोषणा गर्ने निर्णयसमेत गरेको छ । यसअन्तर्गत उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, आजीवन योगदान सम्मान तथा वर्षको उत्कृष्ट क्षण विधामा पुरस्कार प्रदान गरिने क्यानले निर्णय गरेको छ ।
