काठमाडौँ । वीर अस्पतालमा आजदेखि महिलाहरुको स्तन, पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार सुरु भएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेल, महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले विरामीहरुलाई परीक्षण कार्ड प्रदान गर्दै परीक्षण शुभारम्भ गरे ।
त्यस अवसरमा मन्त्री पौडेल, उपप्रमुख डंगोल र उपकुलपति बस्नेतको रोहवरमा महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. र अस्पतालको अङ्कोलोजी विभागका प्रमुख प्रा. डा. विवेक आचार्यले परीक्षण सम्बन्धी सम्झौता पत्र आदानप्रदान गर्नुभयो । आज सुरु भएको परीक्षण र प्रारम्भिक उपचार २०८२ बैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह छन् ।
कार्यक्रम शुभारम्भ गर्दै मन्त्री पौडेलले, देशभरि लागू गर्नु पर्ने कार्यक्रम काठमाडौँ महानगरपालिकाले सुरु गरेकोमा आभार प्रकट गरे । ‘नागरिकसँग सरोकार हुने सबै खालका कार्यक्रम स्थानीय तहबाट सञ्चालन हुनुपर्छ । यस्ता कार्यक्रम अहिले पनि संघ सरकारले सञ्चालन गरिरहेको छ । यसलाई स्थानीय तहमा पठाउनुपर्छ ।’ उनले भने, ‘को कुन अवस्थामा बसेको छ भन्ने जानकारी स्थानीय तहका जनप्रतिनिधिलाई जत्तिको सूचना अरु जनप्रतिनिधिलाई हुँदैन । यसकारण स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रम प्रभावकारी हुन्छन् ।’
क्यान्सर व्यक्ति, परिवार र समाज आर्थिक, सामाजिक अवस्थासँग जोडिएको बताउँदै महानगरपालिकाका उपप्रमुख डंगोलले, व्यक्तिमा क्यान्सर हुनुले यी सबै क्षेत्रमा नकारात्मक पार्ने बताइन् । ‘व्यक्तिमा रोगको लक्षण नदेखुउञ्जेल परीक्षण गराउने गरेको पाइँदैन । यसले गर्दा क्यान्सर जटिल अवस्थामा पुगेपछि मात्र थाहा हुन्छ । यसबाट जीवन बचाउन कठिन हुन सक्छ । तर, समयमै लक्षण थाहा पाएर उपचार गर्न सकियो भने जीवन बचाउन सकिन्छ । यसैका लागि परीक्षण कार्यक्रम थालिएको हो ।’ उनले भनिन्, ‘वीर अस्पताल सबैको पहुँचमा छ । धेरैले देखेको अस्पताल हो । यसकारण सरकार सरकारको सहकार्यमा रोग पहिचान र उपचारका लागि सहकार्य गरेका हौँ ।’
क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ ।
परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।
यो शिविर महानगरपालिकाको दोस्रो संस्करण हो । पहिलो संस्करण २०८१ वैशाख ३ गते सुरु भएर त्यस महिनाभरि वडाहरुमा चलाइएको थियो । त्यस परीक्षणले क्यान्सरसँगै धेरै महिलाहरुमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखाएको छ । त्यस बेलाको शिविरमा ८ हजार १४५ जना महिलाहरुले जाँच गराए । जसमध्ये शंका लागेका ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपिभी डिएनए परीक्षण गरिएको थियो । उहाँहरुमध्ये ४५३ जनामा एचपिभी पोजेटिभ देखियो । पोजेटिभ देखिएका सबैलाई कल्पोस्कोपी गर्न बोलाइएकोमा ३२८ सम्पर्कमा आएर परीक्षण गराउनुभयो । त्यसपछि ३२८ जनाको वायोप्सी गरियो । यसरी वायोप्सी गरिएकामध्ये १२१ जनाको रिपोर्ट सामान्य आयो । १६१ जनामा सिआइएन वान, २४ जनामा सिआइएन टु र १४ जनामा सिआइएन थ्री देखियो । ३ जनामा भने क्यान्सर भइसकेको देखिएकोले थप उपचारका लागि पठाइयो ।
क्यान्सरबाहेक प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका थिए ।
८ हजार १४५ जनामा गरिएको स्तन क्यान्सर परीक्षणमा १ जनामा व्रेष्ट कार्सिनोमा पत्ता लाग्यो । त्यस क्रममा शंका लागेका ३१८ जनाको भिडियो एक्सरे गरिएको थियो । मेमोग्रामका लागि २८ जनालाई १५ जनालाई माइक्रोस्कोपिक परीक्षणका लागि शिफारिस गरिएको थियो ।
महानगरपालिकाका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ ।
ह्युमन प्यापोलिमा भाइरस (एचपिभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. न्यौपानेको सुझाव छ ।
१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।
FACEBOOK COMMENTS