काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल सिमेन्टमा आत्मनिर्भर भएको भन्दै स्वदेशमै खपत बढाउनुपर्नेमा जोड दिएका छन् ।
सोमबार ललितपरको झम्सिखेलमा नेपाल सिमेन्ट उत्पादक सङ्घले आयोजना गरेको कार्यक्रममा उनले नेपाल सिमेन्टमा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने अवस्थामा पुगेकाले मार्जिन घटाएर उत्पादन अझ बढाउनुपर्ने बताए ।
‘नेपाल सिमेन्टमा पूर्ण रूपले आत्मनिर्भर भयो ? भनेर अध्यक्षज्यूलाई सोधको थिएँ । पूर्ण रूपमा आत्मनिर्भर मात्रै होइन, सिमेन्ट बाहिर पठाउने, बाहिर बेच्ने अवस्थामा पनि पुगेको छ भन्नुभयो,’ मन्त्री दाहालले भने, ‘सिमेन्टमा आत्मनिर्भर भइसकेका छौँ भने अब हामीले हाम्रै देशमा यसलाई कसरी लगाउने ? त्यसमा सोच्नपर्छ । जसरी हामी विद्युत उत्पादन गरिरहेका छौँ र देशमै खपत गर्ने कुरा गरिरहेका छौँ, त्यसैगरी सिमेन्ट उत्पादन गरिरहेका छौँ, आत्मनिर्भर भएका छौँ । निर्यात गर्ने अवस्थामा पुगेका छौँ भने यहीँ खपत किन नगर्ने ? कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गरौँ ।’
उनले सरकार नेपाललाई कनेक्टिभिटीको हिसाबले उदाहरणीय देश बनाउने गरी अघि बढिरहेको बताए ।
मन्त्री दाहालले नेपालले चीन र भारतको विकासबाट सिकेर अघि बढ्न जरुरी रहेको बताए । विकासको दृष्टिले नेपाल पनि कम नरहेको भन्दै पछिल्लो १५ वर्षमा धेरै काम भएको उनले दाबी गरे ।
सडकसम्बन्धी नीति निर्माणको काममा पनि सरकारले विशेष चासो दिएर काम गरिरहेको उल्लेख गरे ।
FACEBOOK COMMENTS