काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाहरुलाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गरेका छन् ।
आज शुक्रबारदेखि काठमाडौंमा सुरू भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटनका अवसरमा उनले नेपाल सम्भावना नै सम्भावनाको देश रहेको चर्चा गर्दै यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष ढकालले हातमा सिप भएका र केही गर्छु भन्ने जाँगर भएकाहरूलाई लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरू र अन्य सहकार्यका लागि साझेदारहरू रहेको बताए । ‘म भन्छु, नेपालमा जति सम्भावना अन्त कतै छैन् । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावनाहरू छन् । ती सम्भावनाहरु उजागर गर्न सक्नुपर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नु पर्दछ,’ उनले भने ।
युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कुल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू ऊर्जा, जोश, सृजनशीलता र नवीन सोचले भरिपूर्ण रहेकाले जेसीजले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास सँगसँगै उद्यमशीलताको क्षेत्रमा पनि अगाडि बढाउँदै लैजानुपर्ने अध्यक्ष ढकालले बताए ।
उनले युवाहरूको नेतृत्व विकास तथा सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने नेपाल जेसीजको प्रयास अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्द नवप्रवर्तन, उद्यमशीलतामार्फत नेपाललाई समृद्ध, आत्मनिर्भर र गतिशील राष्ट्र बनाउने दिशामा काम गर्न युवाहरुलाई आग्रह गरे ।
FACEBOOK COMMENTS