काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णीम वाग्ले सँग अर्थ मन्त्रालयमा भेट गरी समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ ।
भेटका क्रममा महासंघले दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति स्वागत जनाएको छ । साथै, अर्थतन्त्रलाई गतिशील बनाउन नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइएको छ ।
अध्यक्ष ढकालले सरकारले प्रारम्भिक चरणमै निजी क्षेत्रका महत्वपूर्ण माग सम्बोधन हुने गरी सुधारका कदम अघि बढाएकोमा महासंघले सकारात्मक रूपमा लिएको उल्लेख गरे । उनले वर्तमान सरकारबाट लगानीमैत्री वातावरण निर्माण, कर प्रणालीमा सुधार तथा निजी क्षेत्रको मनोबल उच्च बनाउने नीतिगत निर्णयहरू अपेक्षित रहेको बताए ।
उनले आगामी सरकारको नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिँदै देशको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक तथा बाह्य पूँजी परिचालन आवश्यक रहेको धारणा राखे । यसै सन्दर्भमा, महासंघकै नेतृत्वमा १० अर्ब रुपैयाँ पूँजीको ‘नेपाल डेभलपमेन्ट कम्पनी’ स्थापना गरी आन्तरिक पूँजी परिचालनको प्रयास भइरहेको जानकारी पनि उनले दिए ।
त्यसैगरी, मुलुक अझै आर्थिक संक्रमणमै रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले छिमेकी बंगलादेश ले समेत स्तरोन्नतिको समय सार्न पहल गरेको उदाहरण प्रस्तुत गर्दै नेपालको स्तरोन्नतिको समयावधि पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन् ।

महासंघले समग्रमा नीतिगत स्पष्टता, निजी क्षेत्रप्रति विश्वास र दीर्घकालीन आर्थिक सुधारमार्फत अर्थतन्त्रलाई सबल बनाउने दिशामा सरकारसँग सहकार्य गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्–

अब निजी क्षेत्रले घुस खुवाउन, लाइन लाग्न र थुनिनु पर्दैन : अर्थमन्त्री डा.वाग्ले
FACEBOOK COMMENTS