काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान (सीआईपी) ले उद्योगी व्यवसायीहरूलाई सम्मानित भएर व्यवसाय गर्न प्रोत्साहित गर्ने बताएका छन् ।
आज बुधबार होटेल याक एण्ड यतीमा आयोजित महत्त्वपूर्ण व्यावसायिक व्यक्तिको सम्मान एवम् सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले उद्योगी–व्यवसायीहरूलाई सीईआईपी सम्मानबाट विभूषित गरी प्रोत्साहित गरेको र यसबाट नेपालको अर्थतन्त्रमा थप योगदान गर्न ऊर्जा मिल्ने बताएका हुन् ।
‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सीआईपी सम्मानले व्यवसायीलाई सम्मानित भएर व्यवसाय गर्न प्रोत्साहित गर्छ,’ अध्यक्ष ढकालले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार यसरी सम्मानित हुने व्यक्तिहरूलाई सरकार र समाजले निक्कै महत्व दिने गरेका छन् । यसले उहाँहरूलाई अर्थतन्त्रमा योगदान पुर्याउने थप ऊर्जा मिल्ने विश्वास मैले लिएको छु ।’
उनले हरेक दुई वर्षमा सीआईपी सम्मान प्रदान गर्ने गरिए पनि बीचमा रोकिएको चर्चा गर्दै अबदेखि निश्चित मिति तोकेरै यो सम्मान वितरण गर्नुपर्ने बताए । सीआईपी डे तोकेर उत्सवका रुपमा मनाउनुपर्ने भन्दै उनले निश्चित दिन तोक्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आग्रह गरे ।
नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले निर्वाह गर्न सक्ने भूमिका र त्यसले अर्थतन्त्रको मुहार र आकार नै फेर्न सक्ने सम्भावना रहेको तथ्य सीआईपीबाट सम्मानित हुने व्यक्तित्व र संस्थाहरूले पुष्टि गरेको अध्यक्ष ढकालले भनाइ थियो । आफूहरूले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाएको र यसले निजी क्षेत्रलाई धेरै नै उत्साहित बनाउने हुँदा कार्यान्वयनका लागि सरकारसँग उनले आग्रहसमेत गरे ।
त्यस अवसरमा अध्यक्ष ढकालले नेपालको निर्यात वार्षिक करिब १० खर्ब रुपैयाँ पुर्याउन सकिने बताए । नेपालको निर्यात सम्भावना हेर्दा वार्षिक करिब १० खर्ब रुपैयाँ पुर्याउन र कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव २ प्रतिशतमात्रै रहेको विदेशी लगानी केही वर्षमै १० प्रतिशत पुर्याउन सकिने धारणा उनले व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रले सिथिल अर्थतन्त्रको विस्तार र नेपालमा लगानी प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम र नीतिगत पैरवी गरिरहेको र यसमा सरकारको भरपुर सहयोग रहेको भन्दै निजी क्षेत्रको विकास र विस्तारमा सरकारले निर्वाह गरिरहेको भूमिकाप्रति आभार व्यक्त गरे ।
‘हामीले लगानी सम्वद्ध कानुनहरूमा समस्या रहेको विषय उठायौ । सरकारले कानुनमा संसोधन गर्यो । द्धिपक्षीय लगानी प्रवर्द्धनका लागि सम्झौता आवश्यक भन्यौँ । त्यसको सरकारले खाका तयार पारेको छ,’ उनले भने, ‘नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेकाले सुधार आयोगको प्रस्ताव गर्यौँ । आयोग बनेर सुझाव सरकारसमक्ष पेश गर्यौँ । त्यसलाई सरकारले आत्मसात गरेकोमात्र नभइ बजेट र मौद्रिक नीतिमा केही सुझाव समावेश पनि भएको छ । यी सबै कामका लागि म सरकारलाई आभार व्यक्त गर्दछु ।’
सरकारले बुधबार ३० वटा व्यावसायिक संस्था तथा कम्पनीहरूलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सीआईपी’ प्रदान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा बुधबार काठमाडौंमा भएको विशेष समारोहमार्फत मानार्थ सीआईपी सम्मान प्रदान गरिएको हो ।
सीआईपी प्राप्त गर्नेहरूमा निजी क्षेत्रका प्रतिनिधिमूलक नौ वटा संस्था र २१ वटा व्यावसायिक फर्म तथा कम्पनी छन् । निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाललाई मानार्थ सीआईपी सम्मान प्रदान गरिएको छ ।
यो पनि पढ्नुहोस्–
सरकारद्वारा ३० व्यावसायिक संस्था तथा कम्पनीहरूलाई सीआईपी सम्मान प्रदान (विवरणसहित)
FACEBOOK COMMENTS