काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट र मौद्रिक नीतिबीच तालमेल भए मात्रै नयाँ आर्थिक वर्षको बजेटबाट परिणाम निकाल्न सकिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज शनिबार काठमाडौंमा आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले बजेटले लिएका नीतिहरू कार्यान्वयनका लागि मौद्रिक नीतिले साथ दिनुपर्ने बताएका हुन् ।
बजेटमा निजी क्षेत्रले दिएका धेरै सुझावहरूलाई समावेश गरिएको भए पनि कतिपय विषयहरू अझै छुटेको बताउँदै उनले भने, ‘बजेट तुलनात्मक रूपमा राम्रो आएको छ । निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख ड्राइभिङ फोर्सका रूपमा लिइएको छ । यसलाई हामीले सकारात्मक नै मानेका छौं । तर निजी क्षेत्रले प्राथमिकताका साथ उठाएका केही विषय छुटेका छन् । छुटेका कुराहरूलाई सकेसम्म पुनरवलोकन गर्न म अर्थमन्त्रीज्यूलाई आग्रह गर्दछु ।’
अध्यक्ष ढकालले सरकारलाई बजेटको सही कार्यान्वयनमा ध्यान दिन आग्रह गर्दै सरकारको राम्रो निर्णयमा निजी क्षेत्र सधैं साथमा रहेको स्मरण गराए । खनिजजन्य र नदीजन्य पदार्थको उत्खन, पर्यटन क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक भए पनि टीडीएस र करले गर्दा पर्यटकको लागत बढ्ने हुँदा यसमा सहजीकरण आवश्यक रहेको उनले बताए ।
यस्तै, कृषि पर्यटन, उद्योग, सूचना प्रविधि वैकल्पिक उर्जा र विशेष आर्थिक क्षेत्रमा दिइएको सहुलियत र औद्योगिक क्षेत्रबाट ३० प्रतिशत निर्यात गर्दा पनि सुविधा दिने विषयले उत्पादनमूलक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष ढकालले बताए । विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्डलाई अधिकार सम्पन्न बनाइनु राम्रो भएको तर लगानी सहजीकरणका लागि एकीकृत कानुन, एकद्वार निकाय र प्रभावकारी संयन्त्र आवश्यक रहनेमा उनले जोड दिएका छन् ।
नीति तथा कार्यक्रमको सही कार्यान्वयन गर्न सके बजेटमा उनले बजेटमा उल्लेख गरिएको आगामी आर्थिक वर्षको ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव रहेको समेत बताएका छन् । सबै विषयको कार्यान्वयनमा सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा रहनुपर्नेमा अध्यक्ष ढकालको जोड छ ।
FACEBOOK COMMENTS