काठमाडौं । धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरानजिक निर्माणाधीन केबलकारको विषयलाई लिएर उत्पन्न विवादबारे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो धारणा राखेका छन् ।
बिहीबारदेखि भृकुटीमण्डपमा सुरू ‘क्यान इन्फोटेक २०२५’ लाई सम्बोधन गर्दै उनले सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले आफूहरूले केबलकार निर्माण गर्न लागेको बताए । तर, अनावश्यक विवाद झिकेर त्यसमा अवरोध सिर्जना गर्ने काम भइरहेको उनको भनाइ छ ।
कम वातारणीय क्षतिमा केबलकार निर्माण गर्न लागिएको भए पनि धर्मको आडमा कुप्रचार गरेर यसलाई विवादित बनाइएको उनले बताए । हजारौंलाई रोजगारी दिएर नेपालमा केही गरौं भनिरहेको व्यवसायीलाई लखेट्ने काम भएको समेत उनले बताए ।
उनले भने, ‘कम वातावरणीय क्षतिमा पाथीभरामा केबलकार निर्माण गर्न लागेका हौं, तर धर्मको आड लिएर कुप्रचार गरिएको छ ।’
उनले यस विषयलाई लिएर व्यक्तिसँगै संस्थालाई समेत प्रहार गरिनु खेदजनक भएको बताए ।
फरक प्रसंगमा अध्यक्ष ढकालले सरकारले हालै ल्याएका अध्यादेशले नेपालको आईटी क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘अहिले सरकारले ल्याएका आध्यादेश स्वागतयोग्य छन् । अब नेपालीहरूले आफ्ना आईटी उत्पादन बाहिर निर्यात गर्न अफिस खोल्न सक्ने भएका छन् । यो निकै सान्दर्भिक छ ।
FACEBOOK COMMENTS