काठमाडौं । भारतको सर्वोच्च अदालतमा सोमबार बिहान एक ७१ वर्षीय अधिवक्ताले भारतीय प्रधानन्यायाधीश बीआर गवाईमाथि जुत्ता प्रहार गरेका छन् ।
घटनापछि दिल्ली प्रहरीले सर्वोच्च अदालत पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
दिल्ली प्रहरीले दिएको जानकारी अनुसार, राकेश किशोर नामका वकिलले आक्रमण गरेका हुन् ।
उनले बिहान ११:३५ बजे अदालत नम्बर १ मा चलिरहेको इजलासको क्रममा आफ्नो स्पोट्र्स जुत्ता निकालेर प्रधानन्यायाधीश गवाईमाथि फ्याँकेका थिए ।
एक वरिष्ठ प्रहरी अधिकारीले भने, “सुरक्षाकर्मीहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए । उनलाई सर्वोच्च अदालतको सुरक्षा एकाइलाई बुझाइएको छ ।
उनी मयुर बिहार क्षेत्रका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एसोसिएसनका दर्तावाल सदस्य हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा वकिल मध्य प्रदेशको खजुराहो मन्दिर परिसरमा रहेको भगवान् विष्णुको मूर्तिको जीर्णोद्धारको माग गर्दै दर्ता गरिएको निवेदनअन्तर्गत हालैको सुनुवाइका क्रममा प्रधानन्यायाधीश गवाईले गरेको टिप्पणीबाट असन्तुष्ट रहेको खुलेको छ ।
प्रधानन्यायाधीश गवाई विचलित नभई शान्त देखिएका थिए । वकिलहरूलाई कारबाही जारी राख्न आग्रह गरेका थिए ।
अदालतबाट बाहिर निकालिँदै गर्दा ती व्यक्तिले ’सनातन धर्मको अपमान हिन्दुस्तानले सहने छैन’ भनेर नारा लगाएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।
FACEBOOK COMMENTS