काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकाे वीमेन्स फोरमद्वारा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएकाे छ ।
आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको यस कम्पनीले कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरू माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरेकाे थियाे।
फागुन २४ गते, कम्पनीको प्रधान कार्यालय, थापाथलीमा, हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ तथा अतिथि दीपा दाहाल (उपकार्यकारी निर्देशक– नेपाल धितोपत्र बोर्ड) को सत्र राखी कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अतिथि वक्ता दीपा दाहालले वित्तीय उद्योगमा महिलाहरूको भूमिकाको बारेमा आफ्नो अनुभव व्यक्त गर्दै, उनीहरूको योगदान, चुनौतीहरू र अगाडिको बाटोमा कसरी निर्धारण गर्ने भन्ने बिषयमा प्रष्ट पारिन्। उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई महिला सशक्तिकरणको लागि महिला आफैले नै पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्ने कुरामा जोड दिई महिला सशक्तिकरणको लागि प्रोत्साहन समेत गरेकि छन्।
सिटिजन वीमेन्स फोरमले नारी दिवसको अवसरमा कम्पनीका सम्पूर्ण कर्मचारीहरू बीच रचनात्मक साहित्यिक प्रतियोगिता पनि आयोजना गरेको थियो। सो प्रतियोगितामा प्रतिस्पर्धा जनाएका सम्पूर्ण कर्मचारीहरू मध्येबाट उत्कृष्ट ५ जनालाई कार्यक्रममा आफ्नो रचना प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो। प्रस्तुति पश्चात चुनिएका पहिलो, दोस्रो र तेस्रो कर्मचारीहरूलाई कम्पनीको व्यवस्थापन टिमले पुरस्कृत गरेको छ ।
फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरूको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै फोरमले आउने समयहरूमा यस्तै शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरूप विभिन्न कार्यहरू गर्ने भविष्यको सोच रहेको बताइन्।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्राथमिकता रहेको जनाउँदै कार्यक्रम समापन भएको घोषणा गरे।
यस कार्यक्रमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैको लागि उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समन्वय गर्ने र सोको सहजताको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समन्वय गर्नु रहेको छ।
FACEBOOK COMMENTS