काठमाडौं । विगत १८ वर्षदेखि अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजनाअनुरूप आफ्नो कर्पोरेट कार्यालयको प्रांगणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो हब सार्वजनिक गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरू डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै हाललाई कर्पोरेट कार्यालयबाट सुरू गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानहरूबाट समेत सञ्चालन गरिने योजना रहेको कुरा बताए ।
स्मार्ट हबमा राखिएका मेसिनहरू जस्तैः चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरूले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ भने क्यास डिपोजिट मेसिनबाट एक हजार र पाँच सय रूपैयाँ दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलब्ध छ ।
डिजिटल बैंकिङ सेवा सिटिजन्स बैंकको सधैं प्राथमिकतामा रहेको छ र यसैको निरन्तरतास्वरूप बैंकले असोज महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने भएको छ ।
यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ, जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई चार सय रूपैयाँसम्म क्यासब्याक प्राप्त हुने, बडादसैंमा बैकको मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल दक्षिणा दिँदा सो कारोबारमा एक सय रूपैयाँसम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुने, ‘दसैंमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै ‘डिजिटल रेमिट्यान्स प्राप्ति अभियान’ मा मोबाइल बैंकिङमार्फत प्राप्त गरिएको रेमिट्यान्समा आकर्षक क्यासब्याक प्राप्त हुने लगायत अन्य आकर्षक अफरहरू समावेश गरिएका छन् ।

यस्ता डिजिटल प्रोत्साहित कारोबार अभियानबाट समग्र बैंकिङ क्षेत्रमा नै डिजिटल बैंकिङको विकास हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्डविना नै मोवाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भर्चुअल क्रेडिट कार्डमा रहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।