काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले शेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्तापुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
२०८३ असार मसान्तमा कायम चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँका आधारमा बैंकले ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बराबरको बोनस शेयर वितरण गर्नेछ ।
कर प्रयोजनको नगद लाभांश तीन करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा रहेको छ । यससँगै कुल लाभांश रकम ६२ करोड दुई लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा पुगेको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनसमेत छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित नेपाल वित्तीय प्रतिवेदन मानदण्ड (एनएफआरएस) अनुसार तयार गरिएको २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा एकीकृत वित्तीय विवरणहरू पनि स्वीकृत भएका छन् ।

बैंकका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण हुँदै आएको छ । बैंकले २० वर्षको औसत लाभांश १०.०८ प्रतिशत रहेको जनाएको छ ।

सभामा अध्यक्ष पाण्डेले शेयरधनीबाट प्राप्त सुझावलाई बैंक सञ्चालनमा समेट्दै आगामी दिनमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे ।

संस्थागत सुशासन र नियामकीय अनुपालनलाई प्राथमिकतामा राख्दै यी पक्षलाई अझ सुदृढ बनाउन बैंक प्रतिबद्ध रहेको उनले बताए । उनले शेयरधनी तथा अन्य सरोकारवालाको सहयोगप्रति आभार व्यक्त गर्दै निरन्तर साथको अपेक्षा पनि गरे ।

बैंकले डिजिटल सेवा विस्तारलाई समेत अघि बढाएको जनाएको छ । फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ र स्वतन्त्र रूपमा काम गर्नेहरूका लागि ‘फ्रिलान्सर सेभिङ्ज अकाउन्ट’ पनि सुरु गरेको छ ।
मोबाइल बैंकिङ एपबाट शेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ । यस्तै, ‘क्रस बैंक टेलर’ सुविधामार्फत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
‘बैंक अफ द ईयर २०२४ र २०२५’ को उपाधि प्राप्त गरेको बैंकले जनाएको छ । हाल बैंकले ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ७८ हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।