काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी–१, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस प्रणाली सहयोग प्रदान गरेको छ ।
यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मृगौला रोगी बिरामीहरूलाई प्रदान गरिने डायलासिस सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको बैंकले जनाएको छ । अस्पतालको डायलासिस युनिटले हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ ।
अस्पतालको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै बैंकले अस्पताल व्यवस्थापन टोलीसँग छलफल गरी सबैभन्दा प्राथमिक आवश्यकता पहिचान गरेको थियो । सोही अनुसार, डायलासिस युनिटका लागि दिगो र सुरक्षित उपचार सेवा सुनिश्चित गर्न आवश्यक पर्ने प्रणालीको स्थापनालाई सर्वोच्च प्राथमिकतामा राखिएको हो ।
सेती प्रादेशिक अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अस्पताललाई सहयोग स्वरुप अस्पतालको डायलासिस एकाइका लागि आर.ओ. प्रणाली हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुदूरपश्चिम प्रदेशका मिर्गौला रोगीहरूको सेवामा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको बताए ।

सेती प्रादेशिक अस्पताल तथा त्यहाँ उपचाररत बिरामीहरूको स्वास्थ्य सुधारको कामना गर्दै उनले यस्तो सहयोगले विशेष गरी न्यून आय र विपन्न समुदायका मिर्गौला रोगीहरूलाई प्रत्यक्ष लाभ पुर्याउने बताए ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।