काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मंसिर १ गते मंगलबारदेखि लागू हुने गरी निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
मंसिरमा ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १४ वटाले कात्तिककै दरलाई निरन्तरता दिएका छन्। यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।
ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ सबैभन्दा धेरै १ प्रतिशतले कटौती गर्दै ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ। कृषि विकास बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ३.६५ प्रतिशत कायम गरेको छ।
एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतविन्दु घटाएर क्रमश: ४.२५ प्रतिशत र ३.२५ प्रतिशत तोकेको छ। लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत बिन्दु घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशत बिन्दु घटाएर ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेका छन्।
सानिमा बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर यथावत राख्दै मंसिरमा सबैभन्दा उच्च ब्याजदर दिने बैंकको सूचीमा शीर्ष स्थान ओगटेको छ। प्रभु बैंकले ४.२५ प्रतिशत कायम गरेका छन्।

यस्तै, नेपाल बैंकले ४.१५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, एनआईसी एसिया बैंकले ४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत, नेपाल एसबिआई बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत र ग्लोबल आइएमई बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन्। १४ वटा बैंकहरूले भने मंसिर महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

तथ्यांकअनुसार कात्तिकको तुलनामा मंसिर महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४ प्रतिशत बिन्दुभन्दा तल ३.९०६ प्रतिशत पुगेको छ।

कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०१३ प्रतिशत बिन्दु रहेकोमा मंसिरका लागि ०.१०७ प्रतिशत बिन्दु घटेर ३.९०६ प्रतिशत बिन्दुमा पुगेको हो।

संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतविन्दुबाट ०.०१२५ प्रतिशत बिन्दु घटेर २.९९०५ प्रतिशत बिन्दुमा झरेको छ ।