काठमाडौं । ऋण लगानी कमजोर भए पनि गएको आर्थिक वर्ष वाणिज्य बैंकहरूको नाफा झन्डै ३२ प्रतिशतले बढेको छ ।
गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा आर्थिक वर्ष २०८१/८२ को भन्दा ३१.९५ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा २० वटा वाणिज्य बैंकले कुल ५२ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएका थिए ।
गएको आर्थिक वर्ष २० वटा बैंकमध्ये १९ वटा नाफामा रहँदा प्रभु बैंक भने २४ करोड रुपैयाँ नोक्सानीमा गएको छ । रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकले ७ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको छ ।
बैंकहरूको नाफा बढे पनि मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी भने १ प्रतिशतले बढेर १ खर्ब ९२ अर्ब ३५ करोड रुपैयाँमात्रै पुगेको छ । कर्जा लगानी बढ्न नसक्दा र किस्ता असुलीमा समस्या आउँदा बैंकहरूमा १३ खर्ब रुपैयाँभन्दा धेरै रकम लगानी हुन नसकेर थन्किएको छ ।
यस अवधिमा बैंकहरूको औसत खराब कर्जा ४.५१ प्रतिशतबाट बढेर ५.३५ प्रतिशत पुगेको छ ।
समग्रमा बैंकहरूको औसत लाभांश क्षमता १३.४२ प्रतिशत देखिएकोमा एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा धेरै ३८.३२ प्रतिशत रहेको छ ।