काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले तीन जनालाई कदरपत्रद्वारा सम्मान गरेको छ ।
‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ का अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणा, ईश्वर लाल प्रतिष्ठानका अध्यक्ष प्रदीप लाल श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको हो ।
कर्पोरेट मिडिया ग्रुपका व्यावसायिक गतिविधि र सञ्चार अभियानहरूमा निरन्तर सहयोग, सहकार्य र अभिभावकीय सद्भावप्रति कृतज्ञता ज्ञापन गर्दै उनीहरूलाई सो सम्मान अर्पण गरिएको कर्पोरेट मिडिया ग्रुपमा अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।

उनीहरूलाई प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले अवार्ड तथा सम्मान प्रदान गरे । सम्मानित राणा कर्पोरेट बिजनेश अवार्डकी ‘जुरी हेड’ हुन् भने ईश्वर लाल प्रतिष्ठानले अवार्डसँग सहकार्य गरेको थियो ।

नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ १८औं संस्करण हो ।
आज बिहीबार काठमाडौंको होटेल र्याडिसनमा विशेष समारोहमा विभिन्न क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ । 
कार्यक्रममा ‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेश लिडरसिप’ र ‘लाइफटाइम एचिभमेन्ट’ सहित पाँचवटा विधामा कूल २९ वटा अवार्ड प्रदान गरिएको अध्यक्ष शाहले जानकारी दिए ।
कार्यक्रममा अवार्ड वितरणसँगै देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे पनि छलफल गरिएको थियो । यस्तै, अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका, लगानी विस्तार, रोजगारी सिर्जना तथा आर्थिक सुधारका विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, सङ्घीय सांसद, अर्थशास्त्री, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । साथै, देशभरका उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, स्वास्थ्य संस्था, ऊर्जा क्षेत्र तथा अन्य व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।