काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ ।
बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहुँ उपलब्ध गराउन पत्राचार गरेको हो ।
स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा थप परिणाममा गहुँ आयात गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले तीन लाख मेट्रिक टन गहुँ आयातका लागि इजाजतपत्र खुला गर्न पत्राचार गरिएको जानकारी दिइन् ।
“बजारमा गहुँको अभाव हुन नदिनका लागि भारत सरकारलाई परराष्ट्रमार्फत पत्राचार गरेको छौँ,” उनले भनिन्, “प्रक्रिया गर्दा समय लाग्ने हुँदा आगामी आर्थिक वर्षका लागि माग गरिएको हो ।”
रुस-युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि गत ३० वैशाखमा भारतले आफ्नो मुलुकको खाद्य सुरक्षालाई ध्यानमा राख्दै नेपाललगायतका मुलुकमा गहुँ निर्यात प्रतिबन्ध लगाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS