काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले निजी क्षेत्रसँग प्रत्यक्ष संवाद संयन्त्र निर्माण गर्न माग गरेकी छन् ।
सांसद कार्कीले व्यावसायिक असफलता, ऋण र आर्थिक सङ्कटको शिकार भई संसद् भवनअगाडि आत्मदाह गरेका प्रेम आचार्यको उदाहरण दिँदै त्यस्तो घटना दोहोरिन नदिन व्यवसाय क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको बताइन् ।
प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सरकारको नीतिगत बाधाहरूका कारण व्यवसाय छोडेर युवाहरू विदेश पलायन हुनु परिरहेको बताइन् । यसको सहजीकरणका लागि देशको व्यवसाय क्षेत्रलाई लगानीमैत्री, उत्पादनमैत्री, उपभोक्तामैत्री र उदार बनाउनपर्ने उनको भनाइ छ ।
‘सरकारले निजी क्षेत्रको प्रवर्द्धनका लागि कानुनी र संस्थागत सुधार गर्ने कुरा दोहोर्याइरहेको छ । तर, कुनै उत्पादनमुखी व्यवसाय खोल्नुपर्दा फरक–फरक निकायमा चहार्नुपर्ने, ठाउँ–ठाउँमा फाइल अड्किने, महिनौँसम्म कुर्नुपर्ने, निर्णय नहुने, तह–तहमा घुस खुवाउनुपर्ने, वातावरणीय पर्यवेक्षण गर्न समेत अफ्ठ्यारो स्थिति हुने कारणले मेरै समकालीन व्यवसायमुखी युवाहरू फ्रस्ट्रेट भएर व्यवसाय छोडेर विदेश पलायन हुनुपर्ने विकल्प रोज्नु परेको छ । यस्तो कथा उनीहरू सुनाउँछन्,’ उनले भनिन्, ‘म माग गर्दछु– एकद्वार प्रणाली प्रभावकारी बनाई डिजिटल रूपमा कार्यान्वयन गरियोस् । कर संरचना स्पष्ट, सरल र स्थिर बनाई लगानीमैत्री बनाइयोस् । निजी क्षेत्रसँग प्रत्यक्ष संवाद हुने संयन्त्र निर्माण गरियोस् ।’
सांसद कार्कीको भनाइ जस्ताको तस्तै–
‘सरकारले निजी क्षेत्रको प्रवर्द्धनका लागि कानुनी र संस्थागत सुधार गर्ने कुरा दोहोर्याइरहेको छ । तर, कुनै उत्पादनमुखी व्यवसाय खोल्नुपर्दा फरक–फरक निकायमा चहार्नुपर्ने, ठाउँ–ठाउँमा फाइल अड्किने, महिनौँसम्म कुर्नुपर्ने, निर्णय नहुने, तह–तहमा घुस खुवाउनुपर्ने, वातावरणीय पर्यवेक्षण गर्न समेत अफ्ठ्यारो स्थिति हुने कारणले मेरै समकालीन व्यवसायमुखी युवाहरू फ्रस्ट्रेट भएर व्यवसाय छोडेर विदेश पलायन हुनुपर्ने विकल्प रोज्नु परेको छ । यस्तो कथा उनीहरू सुनाउँछन् ।
म माग गर्दछु– एकद्वार प्रणाली प्रभावकारी बनाई डिजिटल रूपमा कार्यान्वयन गरियोस् । कर संरचना स्पष्ट, सरल र स्थिर बनाई लगानीमैत्री बनाइयोस् । निजी क्षेत्रसँग प्रत्यक्ष संवाद हुने संयन्त्र निर्माण गरियोस् । सरकारको अफ्ठ्यारा नीतिहरूका कारण व्यावसायिक असफलता, ऋण र आर्थिक सङ्कटको शिकार भई संसद् भवनअगाडि आत्मदाह गरेका प्रेम आचार्यको घटनाले तपाईं–हामीलाई बारम्बार दुख्नुपर्छ । त्यस्ता घटना दोहोरिन नदिन देशको व्यवसाय क्षेत्रलाई लगानीमैत्री, उत्पादनमैत्री, उपभोक्तामैत्री र उदार बनाउन नीतिगत सुधार आवश्यक छ । यसतर्फ ध्यान दिइयोस् ।’
FACEBOOK COMMENTS