काठमाडौं । अधिकार प्रत्यायोजन गर्न नचाहने प्रवृत्तिले गर्दा प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा प्रमुख र उपप्रमुखबीच विवाद उत्कर्समा छ। यसले सर्वसाधारणले पाउनुपर्ने सुविधाहरूमा समस्या खडासमेत गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकारलाई मुख्यतया ८ वटा बुँदामा उल्लेख गरेको छ। जसअनुसार न्यायिक समितिको संयोजक भई काम गर्ने। अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ–संस्थाका क्रियाकलापको समन्वय गर्ने ।
उपभोक्ता हित संरक्षणसम्बन्धी कार्यको समन्वय गर्ने। योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी प्रतिवेदन बैठकमा पेस गर्ने। सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्नेलगायत।
तर, अधिकांश उपप्रमुखलाई तोकिएको काम, कर्तव्य र अधिकारबाट बञ्चित गराई प्रमुख र प्रशासकीय अधिकृतले पूर्ण हस्तक्षेप गर्ने परिपाटी बढेको छ। उप्रमुखमा अधिकांश महिला हुन्छन्। अधिकार प्राप्तिमा उनीहरूलाई निरीह बनाइँदै आएको छ।
रौतहटको राजदेवी नगरपालिकाकी उपप्रमुख अंसु सिंहले मंगलबार प्रमुख प्रशासकीय अधिकृत सुबोध साहलाई हालै कार्यकक्षमै थुनिन्। कार्यपालिका बैठक र नगरसभाको माइनटको फोटोकपि उपलब्ध गराइदिन पटक–पटक नगर प्रमुख र प्रशासकीय अधिकृतलाई मौखिक र लिखित आग्रह गर्दासमेत दिन नमानेपछि आवेशमा आएर उपप्रमुख सिंहले अधिकृतलाई साहलाई थुनेको बताउँछिन्। ‘म उपप्रमुख छु तर, मलाई नगरसभाको माइनटको फोटोकपि माग्दा दिएनन् ।
मेयरसाहबलाई भन्दा उनले प्रशासकीय अधिकृतसँग माग्नुस् भन्छन्। अधिकृतसँग माग्दा मेयरसाहबले नदिन भनेको छ भन्छन्। यस्तोमा रिस उठेर उनलाई कार्यकक्षमै थुनें,’ उपप्रमुख सिंहले भनिन्, ‘म संयोजक भएको कुनै पनि समितिको बैठक समेत बस्दैन। मेरा सबै कामहरूमा अवरोध गरिन्छ। यतिसम्मकी मैले योजनाहरूको अनुगमन गरेर दिएको फाइलसमेत नहेरेरै फालिन्छ। म किन यो पदमा निर्वाचित भएको हुँ आफैंलाई थाहा छैन।’
सप्तरीको बोदे बरसाइन नगरपालिकाकी उपप्रमुख रञ्जुकुमारी साह तेलीले आफ्नो पदको अधिकार दिलाई दिन भन्दै जिल्ला समन्वय समिति, जिल्ला प्रशासनदेखि लिएर प्रदेश २ का मुख्यमन्त्री सम्मलाई गुहारिन्। ‘मलाई न त कुनै बजेटको जानकारी गराइन्छ, न कुनै योजनाबारे नै,’ उपप्रमुख साह भन्छिन्, ‘कुनै पनि फाइलमा सही गर्नु छ भने बिना कुनै जानकारी बिना कुनै सोधपुछकै सही गर्न दबाब दिइन्छ। बढी सोधियो भने बाइपास गरेर सबै काम नगरप्रमुखज्यूले आफैं गर्नुहुन्छ।’ यो पदमा पुगेर तनाव र अपमान बाहेक केही नपाएको दुखेसो साहको रहेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS