काठमाडौं । धादिङ बस दुर्घटना घाइते भएकामध्ये एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनको ठेगाना स्याङ्जा रहेको प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो । बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पताल पठाइएको थियो । अचेत अवस्थाकालाई मलेखु र जिल्ला अस्पताल पठाइएको थियो ।
रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्याफ्टिङ व्यवसायीले उद्धार गरेका थिए ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।

FACEBOOK COMMENTS