काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले ट्रक ढुवानी व्यवसायीको समस्याबारे सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले भारतीय ट्रक निर्वाधरुपमा मुलुकका विभिन्न भूभागमा घुम्ने गर्दा नेपाली ट्रक व्यवसायी अहिले मारमा परिरहेको बताए । उनले भारतीय गाडीले उतैबाट ढुवानी गरेर ल्याउने र नेपालभित्र सबै ठाउँमा सोही गाडी घुम्ने अवस्था रहेको भन्दै भारतीय गाडीलाई भन्सार नाकामै अनलोड गरेर फर्किंने व्यवस्था मिलाउन माग गरे।
विपद् व्यवस्थापनको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारी संयन्त्रलाई तयारी अवस्थामा राख्न पनि सांसद नेपालीले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सांसद बीना लामाले धादिङको उत्तरी खण्डको सडक स्तरोन्नति गर्न माग गरे । उनले रुविभ्याली गाउँपालिकाका कतिपय क्षेत्रका जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न पनि ध्यानाकर्षण गराए ।
उनले भौगोलिक विकटता र स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्नेसमेत माग गरे । जनता समाजवादी पार्टी ९जसपा० नेपालका सांसद रेखा यादवले संसद्मा अड्किएका विधेयक चाँडो अघि बढाइनुपर्ने माग गरे । लघुवित्तको ठगी नियन्त्रण र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गरे । कृषकलाई कृषक परिचयपत्रको व्यवस्था गरी मलखाद्य र सिँचाइको सुनिश्चितता गराउनेतर्फ सम्बन्धित निकायलाई सक्रिय बनाउन उनले आग्रह गरे।
नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले आयात निर्यातका वस्तुको सूची बनाएर ढुवानी तथा निकासी सहज तुल्याइनुपर्नेमा जोड दिए । उनले बैंक तथा वित्तीय क्षेत्रको पुनःसंरचना गरी दूरदराजका जनताको पहुँचमा पु¥याइनुपर्ने खाँचो औँल्याए । सांसद चौधरीले पेट्रोलियम पदार्थको विकल्प खोजेर विद्युतीय सवारी सञ्चालनका लागि करछुटलगायतका सुविधा दिएर यसको खपतमा आकर्षण गरिनुपर्ने माग गरे ।
जनमत पार्टीका सांसद अनिताकुमारी सिंहले तराई–मधेसका सरकारी विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नहुँदा शैक्षिकसत्र अवरुद्ध भएको र शैक्षिक स्तर पनि खस्कँदो अवस्थामा रहेको भन्दै सभामुखमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।
FACEBOOK COMMENTS