काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का उपाध्यक्ष दिनेश श्रेष्ठले विज्ञापन नदिए पनि उद्योगी–व्यवसायीका समस्याहरू उजागर हुनेगरी समाचार लेखिदिन पत्रकारहरूलाई आग्रह गरेका छन् ।
निर्यात व्यवसायी महासंघ नेपालको दोस्रो वार्षिक साधारण सभालाई हिजो सोमबार सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ महामारीलगायत विभिन्न समस्याका कारण उद्योग व्यवसायले विज्ञापन दिन नसक्ने अवस्थामा पुगेको बताउँदै सो कुरा बताएका हुन् ।
‘म सञ्चारकर्मी मित्रहरूलाई के भन्न चाहान्छु भने हाम्रा दुःख र पीडाका कुराहरू पनि, हामीले एडभर्टाइज दिन नसके पनि, तपाइँहरूलाई सहयोग गर्न नसके पनि केही हाम्रा समस्याहरूलाई जब कुनै पत्रिकाको मुख पृष्ठमा आर्थिक समस्यालाई प्रमुखता दिइन्छ त्यो देश विकासको बाटोमा लागेको हुन्छ, सम्वृद्धिको तर्फ लागेको हुन्छ,’ उनले भने, ‘त्यस कारण म सञ्चारकर्मी साथीहरूलाई निवेदन गर्न चाहान्छु– हाम्रा पीडालाई पनि अलिकति स्थान दिनुहोला ।’
प्रमुख अतिथि केपी शर्मा ओली र अतिथिका रूपमा सहभागि केही सरकारी अधिकारीहरू आफ्नो मन्तव्य सकेर बाहिरिसकेको अवस्थामा शुभकामना मन्तव्य दिएका उपाध्यक्ष श्रेष्ठले भने, ‘सचिवज्यू जानुभयो, सह–सचिवज्यूले टिप्नुहुन्छ होला । होइन भने हाम्रा सञ्चारकर्मी साथीहरू यहाँ हुनुहुन्छ होला । होइन भने हामीले हाम्रो कुरा आफैंले सुनेर, आफैंले रमाएर हामी छुट्टिनुपर्ने अवस्था हुन्छ ।’
सरकार, सरोकारवाला र सञ्चारकर्मीहरूले समेत उद्योगी–व्यवसायीहरूको गुनासो सुन्न छोडेकोप्रति उनले गुनासो व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS