काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अस्ट्रेलियन राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा मन्त्री भण्डारीले दुई देशबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे । सन् १९६० मा नेपाल र अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, सहयोग र आपसी सम्बन्ध सौहाद्र्रपूर्ण रहेको उनले बताए ।
उनले भने, ‘अस्ट्रेलिया नेपालका लागि मित्रराष्ट्र र महत्त्वपूर्ण साझेदार हो, नेपाललाई अस्ट्रेलियाबाट विभिन्न सहयोग प्राप्त भएको छ । स्वास्थ्य, जीविकोपार्जन र मानव संसाधन जस्ता क्षेत्रहरूमा सहयोग भएको छ ।’
उनले नेपाललाई अति कम विकसित देशबाट योजनाबद्ध रूपमा स्तरोन्नति गरी सन् २०२६ मा विकासशील देश बनाउन र दिगो विकास लक्ष्य हासिल गर्न थप सहयोग आवश्यक भएको बताए ।
मन्त्री भण्डारीले स्रोत, प्रविधि र साझेदारीका सन्दर्भमा व्यापार, लगानी र पर्यटन जस्ता क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे । अस्ट्रेलिया नेपालको प्रमुख व्यापार साझेदार रहेको बताउँदै मन्त्री भण्डारीले दुई देशलाई फाइदा हुने गरी द्विपक्षीय व्यापार विस्तार गर्न आवश्यक रहेको बताए ।
लगानीका दृष्टिकोणले पनि अस्ट्रेलियाको प्रमुख भूमिका रहेको उनको भनाइ छ । नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना रहेको बताउँदै उनले सूचना प्रविधि, जलविद्युत र कृषिमा आधारित उद्योगमा लगानीका लागि ५० भन्दा बढी देशका लगानीकर्ताहरू सहभागी लगानी सम्मेलनमा आग्रह गरेको बताए ।
व्यापार र लगानी फ्रेम वर्क सम्झौता (टिफा) दुई देशबीच सन् २०२४ को फेब्रुअरीमा सम्पन्न सम्झौता हो ।
लगानी र व्यापार प्रवर्द्धनमा सहयोग विस्तार हुने आशा रहेको मन्त्री भण्डारीले बताए । यो सम्झौतासम्भाव्यता पहिचान र अभिवृद्धि गर्न सहायक हुने उनले बताए ।
मन्त्री भण्डारीले दुई देशबीच सहकार्यका लागि व्यापार तथा लगानी समितिको पहिलो बैठक आयोजना गर्ने बताए । अस्ट्रेलिया उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य भएको उनले बताए । अस्ट्रेलियाबाट नेपाल आउने पर्यटकको संख्या उत्साहजनक रहेकाले आगामी दिनमा पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।
भेटमा अस्ट्रेलियन राजदूत जोन्स्टनले मन्त्री भण्डारीले व्यक्त गरेका अपेक्षाहरूका विषयमा आफू सकारात्मक रहेको बताइन् । नेपाल-अस्ट्रेलियाबीचको आपसी सम्बन्ध र सहकार्य विस्तारको भूमिका निर्वाह गर्ने बताउँदै उनले नेपालको विकास निर्माणमा सहकार्यको वातावरण बनाउने बताइन् ।
उनले नउद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताइन् । जोन्स्टन हालै नेपालका लागि राजदूत नियुक्त भएर आएकी हुन् ।
FACEBOOK COMMENTS