काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर उत्पादित औषधि र अन्य वस्तुहरूमा कर वृद्धी गर्ने घोषणा गरेका छन्।
उनले २०२५ अक्टोबर १ देखि लागू हुने गरी अमेरिका बाहिर उत्पादित सबै ब्रान्डेड वा पेटेन्ट गरिएका औषधिहरूमा १०० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन्।
ट्रम्पले भनेका छन्, ‘हामीले हाम्रो राष्ट्रिय सुरक्षाका लागि उत्पादन क्षेत्र जोगाउनु पर्छ। विदेशी उत्पादनहरू अत्यधिक मात्रामा भित्रिरहेका छन्, जुन अनुचित हो।’
यस्तो कर लागुले सबैभन्दा ठूलो प्रभाव भारत र आयरल्याण्डमा पर्ने देखिएको छ । भारतले अमेरिकाबाट हरेक वर्ष करिब १२.७ अर्ब डलर बराबरका औषधिहरू आपूर्ति गर्छ, जसमा अधिकांश जेनेरिक औषधिहरू हुन्। तर डा. रेड्डीज, सन फार्मा, र लुपिन जस्ता कम्पनीहरूले ब्रान्डेड औषधिहरू पनि निर्यात गर्छन्। नयाँ करले यी औषधिहरू महँगा बनाउने मात्र होइन, केही कम्पनीहरू बजारबाटै बाहिरिन सक्ने जोखिम पनि देखिएको छ।
व्यापार अनुसन्धान संस्था ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका अनुसार अमेरिकामा बेचिने करिब आधा जेनेरिक औषधिहरू भारतबाट आउँछन्। यी सस्तो औषधिहरूले अमेरिकी उपभोक्तालाई हरेक वर्ष अर्बौं डलरको खर्च बचत गराउँदै आएका छन्। एउटा अध्ययन अनुसार, २०२२ मा मात्र भारतीय जेनेरिक औषधिहरूले २१९ अर्ब डलर मूल्यको व्यापार गरेका थिए।
यता आयरल्याण्ड पनि ट्रम्पको निशानामा परेको छ। आयरल्याण्डमा जोनसन एण्ड जोनसन, फाइजर, मर्क, एबभी र एलि लिलीजस्ता अमेरिकी कम्पनीहरूको कारखाना छन्। यी कम्पनीहरूले अमेरिकी बजारका लागि उच्च मूल्यका ब्रान्डेड औषधिहरू उत्पादन गर्छन्। ट्रम्पले आयरल्याण्डले अमेरिकी कम्पनीहरूलाई सस्तो करदरतर्फ लोभ्याएको आरोप लगाउँदै आएका छन्। अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले त यसलाई घोटाला नै भनेका छन्।
ट्रम्पको कर योजना यति मात्रै होइन। उनले भान्सा र बाथरूम क्याबिनेटहरूमा ५० प्रतिशत, अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत, र अन्य देशमा उत्पादित भारी ट्रकहरूमा २५ प्रतिशत कर लगाउने पनि घोषणा गरेका छन्। ट्रम्पको यस्तो कदमले अमेरिकी ट्रक निर्माता कम्पनीहरूलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने दाबी गरेका छन्।
विश्लेषकहरू भन्छन्, व्यापार सम्झौता नभएको अवस्थामा यस्तो कदमले औषधिको मूल्य वृद्धिसँगै अमेरिका भित्र औषधिको अभाव निम्त्याउन सक्छ। धेरै भारतीय कम्पनीहरू अहिले नै कम नाफामा काम गरिरहेका छन्, र नयाँ करले उनीहरूलाई थप दबाबमा पार्नेछ। अमेरिकाका लागि यो नीति दीर्घकालीन रूपमा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिइएको छ।
ट्रम्पको यो निर्णयले अमेरिका–भारत र अमेरिका–आयरल्याण्ड सम्बन्धमा तनाव थप्न सक्ने आकलन गरिएको छ भने घरेलु बजारमै पनि यसको असर पर्ने देखिन्छ। अबको केही महिनामा विश्व बजारले यसमा कसरी प्रतिक्रिया जनाउने हो भन्ने कुराले धेरैको ध्यान खिचेको छ।
FACEBOOK COMMENTS