काठमाडौँ । त्रिशूली नदीमा एउटा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका–२९, चौधकिलोमा कोइला बोकेको ट्रक आफैँ अनियन्त्रित भएर त्रिशूलीमा खसेको हो ।
प्रहरीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ४८७४ नम्बरको ट्रक आज (मङ्गलबार) बिहान ६:३० बजेतिर यस्तो दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक रामनारायण यादवको मृत्यु भएको हो भने सहचालक असुन्द्रकुमार यादव घाइते भएका हुन् । उनीहरू दुवै रौतहट घर भएकाहरू हुन् ।
प्रहरीले दुवैलाई उद्धार गरेर उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाएकोमा चालक रामनारायणलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यस्तै, सहचालक असुन्द्रकुमारलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ ।
ट्रकको आधा भाग पानीमा डुबेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS