काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका सदस्यहरुको डिजिटल उपस्थिति (ई–हाजिरी)को व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले सांसदहरुको ई–हाजिरीको व्यवस्था गर्न निर्देशन दिएका हुन्।
आइतबारदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदै छ। बजेट अधिवेशनअन्तर्गत आइतबार अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ।
प्रतिनिधि सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा ई–हाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे छलफल भएको थियो।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले संसद्मा सांसदहरुको उपस्थिति कमजोर भएको बताए।
‘संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ। सांसद तलब–भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ,’ उनले भने, ‘दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु। संसद् सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।’
FACEBOOK COMMENTS