काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आयोजनामा आज (सोमबार) हुने भनिएको ‘१५औं ईक्यान मल्टिडेस्टिनेशन एजुकेशनल फेयर, २०२४’ सरेको छ ।
कोभिड महामारीपछि पहिलो पटक आयोजना हुन लागेको मेला शुक्रबार र शनिबारको अविरल वर्षा र त्यसपछिको विपद्ले देशमा ठूलो जनधनको क्षति भएपछि सारिएको हो ।
सोमबार विज्ञप्ति जारी गर्दै ईक्यानले मेला अब असोज १६ गते आयोजना हुने जनाएको छ ।
नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवं परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
मेलामा विद्यार्थीले विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाइने ईक्यानले जनाएको छ ।
विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरू गरी १५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
FACEBOOK COMMENTS