काठमाडौं । पछिल्लो समय राजसंस्था फर्काउने भन्दै दिनप्रतिदिन विभिन्न प्रदर्शनहरू भइरहेका छन् ।
सङ्घीय गणतन्त्रले देश र जनताको हित नगरेको भन्दै खासगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा ‘राजा फर्काउने’ अभियानलाई तीव्रता दिन थालेका हुन् ।
मुलुकमा राजसंस्था पुनर्स्थापना गर्नका लागि पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति समेत राजावादीहरूले गठन गरिसकेका छन् । सुवेदी पञ्चायतकालभरि चर्चामा रहेका राजनीतिज्ञ तथा पटक–पटक मन्त्री भइसकेका व्यक्ति हुन् । राजावादीलाई गोलबद्ध गरेर एकीकृत आन्दोलन हाँक्न समिति बनाइएको बताइएको छ ।
यद्यपि, समितिमा राखिएका कतिपय सदस्यले त्यसप्रति असहमति पनि जनाएका छन् । खासगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंलाई हाबी गराएर जनतामा स्थापित राजनीतिक दललाई किनारा लगाउन पूर्वपञ्चलाई आन्दोलनको नेतृत्व दिइएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहकै सक्रियतामा गठन भएको भनिएको सो समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंसहित केशरबहादुर विष्ट, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, अस्मिता भण्डारी, रमा सिंह, रवीन्द्र मिश्र, धवलशमशेर राणा तथा हरिबहादुर बस्नेत सदस्य छन् । त्यसमध्ये रवीन्द्र मिश्र समितिको सदस्यसचिव र धवलशमशेर राणालाई आन्दोलन परिचालन समितिको संयोजक बनाइएको छ ।
समिति गठनलगत्तै विभिन्न नेताहरूले असन्तुष्टि जनाउनुले राजावादीहरूभित्र एकमत नभएको देखिन्छ भने यस्तो समितिले हाँक्ने आन्दोलन समेत प्रभावकारी हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जिएको छ । यही प्रश्न उब्जिरहेकै बेला नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले घटनाक्रमहरूमा नयाँ ‘ट्वीस्ट’ ल्याएका छन् ।
राजावादीहरूले राजा फर्काउनका निम्ति नभइ आफ्नै दुनो सोझ्याउनका लागि पछिल्लो गतिविधि गरिरहेको बास्कोटाले बताएका छन् । उनका अनुसार ‘राजा फर्काउने’ नाममा भइरहेको पछिल्ला गतिविधिहरू पूर्वपञ्चहरूलाई एकैठाउँमा ल्याउने अभियान हो । यो गतिविधि त्यत्तिमै सीमित हुनेछ । ‘राप्रपाहरूले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने सङ्गठन विस्तारको योजना हो । अरु त आकाशको जूनतारा खसाल्ने सपना न हुन्,’ पूर्वमन्त्री बास्कोटाले फेसबुकमा लेखेका छन् ।
राजावादीहरूभित्र नदेखिएको मतऐक्यता र बास्कोटाले गरेको अनुमानबीच केही तालमेल मिलेको देखिन्छ । तर, मुलुकमा व्यवस्था फेर्न बाह्य शक्तिहरूको समेत चलखेल भइरहेको चर्चाकाबीच यो गतिविधि त्यतिमै सीमित नहोला कि भन्ने आँकलन पनि गर्न सकिन्छ । राजावादीहरूको होहल्लाका कारण गणतन्त्रवादी दलहरूले विद्यमान संविधान संशोधन गरी प्रदेश संरचनालगायत केही व्यवस्था खारेज गरी आफूलाई करेक्शन गर्नसक्ने सम्भावना पनि बलियो बन्दै गएको छ ।
यी समाचार पनि पढ्नुहोस्–
गोरखाबाट पूर्वराजाको सन्देश– मेरो सक्रियतादेखि कोही डराउनु पर्दैन
प्रधानमन्त्रीले चाहे पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रहरीले पक्राउ नगर्ने, यस्तो छ कारण (भिडिओ)
राजावादीहरूको सक्रियताले उत्पन्न राजनीतिक तरङ्गका बीच प्रचण्डले भेटे राष्ट्रपति
FACEBOOK COMMENTS