काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता नेपाल र बंगलादेशमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा १६ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, भारत, आयरल्यान्ड र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र समोआ रहेका छन् । त्यस्तै, समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र यूएई छन् भने समूह ‘डी’ मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्यान्ड छन् ।
सहआयोजक नेपालले समूह चरणका आफ्ना सबै खेल घरेलु मैदानमा खेल्नेछ । नेपालले जनवरी २२ मा आयरल्यान्ड, जनवरी २४ मा भारत र जनवरी २६ मा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका तीनवटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ ।
प्रतियोगिताअन्तर्गत नेपालमा १५ खेल सञ्चालन हुनेछन् । ती खेल त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछन् । बाँकी २६ खेल बंगलादेशमा खेलाइनेछ ।
समूह चरणपछि प्रतियोगिता सुपर सिक्स चरणमा प्रवेश गर्नेछ । प्रत्येक समूहबाट तीन–तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा छनोट भएका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताका सेमिफाइनल खेल फेब्रुअरी ४ मा बंगलादेशको वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट रंगशालामा हुनेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ६ मा बंगलादेशमै आयोजना हुनेछ ।
